१४ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ३८ वर्षीय बाबुलाई जिल्ला अदालतले फागुन २० गते ४३ वर्ष कैद, पाँच लाख रुपियाँ जरिबाना, पचास हजार रुपियाँ क्षतिपूर्ति र २८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट छोरीलाई हाडनाता करणी कसुरमा २५ वर्ष र बलात्कार कसुरमा १८ वर्ष कैद समेत गरी ४३ वर्ष कैदसंगै उक्त जरिवाना, क्षतिपूर्ति र पीडित राहत कोषमा तिर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) मा उल्लेखित ‘जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद’ र दफा २१९ मा पीडित महिलाको उमेर हेरी सजाय सजाय हुने व्यवस्था अनुसार उपदफा ३ (ख) मा लेखिए अनुसार ‘१० देखि १४ वर्ष उमेरकी बालिकालाई करणी गरेमा १८ देखि २० वर्ष कैद हुन्छ’ भन्ने कानूनी व्यवस्था अनुसार एकै मुद्दामा जन्मकैद र थप सजाय समेत ४३ वर्ष कैद गरिएको फैसलामा उल्लेख छ ।
आफ्नै बुबाले ०८० वैशाख २३ गते ती छोरीलाई बलात्कार गरेको भन्दै वैशाख २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले त्यही दिन घरबाटै गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २३ गते जिल्ला अस्पतालमा भएको थियो ।
स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडित बालिकाको बयान लगायतको प्रमाणका आधारमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०८० जेठ १६ गते जिल्ला अदालतमा हाडनाता करणी सम्बन्धी अभियोग दर्ता गराएको थियो ।
अभियोग सम्बन्धमा जेठ १६ गते नै भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालकै इजलासबाट कसुरदारलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । पीडित बालिकाले बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको व्यहोरा अदालतले लिइएको बकपत्रमा दोहो¥याएर भनेकी थिइन् ।
