INSEC Online

📅 २०८३ जेष्ठ २१

दाईजोका कारण कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया रानी कुमारी महतोलाई २५ वर्षीय पति राजिब कुमार महतो, ४७ वर्षीया सासू रामबती देवी महतो नुनिया र ५१ वर्षीय ससुरा महिन्द्र महतोले कुटपिट गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० फागुन १७ गते उजुरी दिनु भएको छ ।

थप दाइजो बापत पीडितका बुबाले दुई तोला सुन र १० तोला चाँदी नदिएको भन्दै आरोपितहरूले फागुन ११ गते पीडितलाई गालीगलौज गर्नुका साथै कुटपिट समेत गरी शारीरिक तथा मानसिक यातना दिइ घरेलु हिंसा गरेको पीडितका २८ वर्षीय दाजु राहुल कुमार महतोको आरोप रहेको छ ।

कुटपिटका कारण घाइते भएकी पीडितको उपचार फागुन १३ गतेदेखि १५ गतेसम्म जिल्ला अस्पताल मलंगवामा गराई माइती घर महोतरी जिल्ला सोनमा गाउँपालिका–४ बस्दै आएको पीडितले बताउनु भयो ।

पीडित र आरोपित राजिब कुमार महतोबीच ०७८ फागुन १८ गते विवाह भएको थियो । विवाहमा नगद १ लाख ५० हजार रुपियाँ नगद र फर्निचरका सामग्रीहरू दिएपनि थप दाइजो नल्याएको भन्दै आरोपितहरूले पीडितलाई कुटपिट गर्नुका साथै शारीरिक तथा मानसिक यातना समेत दिएको पीडितका दाजुको आरोप रहेको छ ।

उजुरी पश्चात आरोपितहरू फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

अन्य

भिडियो