गुल्मी कारगारको क्षमता भन्दा बढी हुँदा कैदी बन्दीहरूलाई बस्न, सुत्न लगायतका समस्या व्यहोर्नु परेको छ ।
कारगारको क्षमता २५ जनाको हो । कारागार ऐन ०७९ को परिच्छेद ४ को पुर्वाधार सम्बन्धी व्यावस्थामा महिला पुरूषको भवन, शौचालय, कैदी र बन्दी, मानसिक समस्या भएका तथा प्रचलित कानुन अनुसार गम्भीर र जघन्य अपराधको कसुरमा सजाय पाएकालाई छुट्टाछुट्टै भवन चाहिने उल्लेख छ । तर, गुल्मी कारागारलाई संरचनाको अभावमा १ सय २५ जनासम्म राख्नुपर्ने बाध्यता रहेको छ ।
साघुरो र पुरानो जिर्ण संरचना भएकाले कारागारले वर्षौदेखि सास्ती भोग्दै आएका छन् । दैनिक कैदीबन्दीको संख्या बढेपछि नौ जना अर्घाखाँची र पाँच जनालाई पाल्पा स्थान्तरण गरिएको कारागारका निमित्त प्रमुख रेश्मीराज पन्थीले बताउनु भयो ।
कारागारमा हिउँदमा पनि चिसो बढी छ । जिल्ला कारागार करिब पाँच गुणा कैदीबन्दी भएपछि व्यावस्थापनमा चुनौती बनेको छ । ‘२५ जनाको क्षमता हुँदा सय जना बढि कसरी थेग्ने, संरचनानै नभएपछि के गरेर राख्ने,’पन्थीले भन्नुभयो । ,‘जिर्ण कारागार र सिमित स्रोत साधनका बिच कैदीबन्दी अत्यधिक भएकाले समस्या भएको छ ।’ पन्थीले कारागारको संरचना प्रयाप्त भए कैदीबन्दी राख्न समस्या नभएको बताउनु भयो ।