INSEC Online

📅 २०८३ जेष्ठ २१

छोरी जन्मिएपछि अस्पताल मै छाडेर आमा फरार

वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतामा छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा फरार भएकी छिन् ।

अस्पतालको प्रसूति विभागमा ०८० फागुन १२ गते शनिबार विहान ६ः३० बजे जन्मिएको नवजात शीशु (छोरी) अस्पताल मै छाडेर आमा र आफन्तहरु फरार भएका हुन् ।

शनिबार विहान छोरी जन्माएपछि सोही दिन साँझदेखि आमा सम्पर्क विहिन भएको प्रसूति वार्डकी नर्सिङ इन्चार्ज हेमा थापाले जानकारी दिनु भयो । साथै शीशुलाई अस्पतालको एनआइसियु वार्डमा राखिएको उहाँले बताउनु भयो ।

सासुसँग अस्पताल आएकी महिलाले अस्पतालको रेकर्डमा आफ्नो व्यक्तिगत विवरणमा यस प्रकार उल्लेख गरेकी छिन्– “नामः सीता देवी साह कानु, उमेरः ३० वर्ष, ठेगानाः वीरगंज महानगरपालिका–६ रानीघाट” अस्पतालका इन्चार्ज हेमा थापाले जानकारी दिनु भयो ।

त्यस्तै, प्रसूति गराउन अस्पताल पुगेकी महिलाको पति नआएको भन्नु हुँदै यसअघि पनि ती महिलाको तीन जना छोरी मात्रै रहेको र चौथो सन्तान पनि छोरी नै जन्माएको भन्दै ती महिलाका सासु लगायतका परिवारका सदस्यहरुको महिलासँग झगडा समेत भएको सुनिएको इन्चार्ज थापाले बताउनु भयो ।

शीशुलाई अस्पताल मै छाडेर फरार भएको जानकारी अस्पताल प्रशासनले फागुन १२ गते प्रहरीलाई गराएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार विक्रम थापाले बताउनु भयो ।

डिएसपी थापाले भन्नु भयो– “प्रसूति गराउन अस्पतालमा जाँदा महिलाले अस्पतालको रजिष्टरमा टिपाएको नाम र ठेगाना गलत हुनुको साथै रानीघाट भन्ने टोल वीरगंज महानगरपालिकाको वडा नम्बर ६ मा नरहेको र रानीघाट टोलमा ती नाम भएको महिला वा उनको पतिको नाम भएको व्याक्ति नै फेला परेन”।

अस्पतालको सीसी टीभी फुटेज लगायतका आधारमा उनिहरुको खोजी कार्य प्रहरीले गरिरहेको डिएसपी थापाले बताउनु भयो ।

अन्य

भिडियो