१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा गोदावरी नगरपालिका–२ तेघरीका ७५ वर्षीय डबले टमट्टालाई ०८० फागुन ८ गते १२ वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले कसूर ठहर गरी १२ वर्ष कैद सजाय, ५ लाख जरिवाना, ५० हजार क्षतिपुुर्ति र २० हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार मानबहादुर विष्टले बताउनु भयो ।
पीडित बालिकालाई २०७९ चैत १७ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १८ गते ईलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०८० वैशाख ११ गते ५० हजार रुपियाँ धरौटी र तारेखमा रिहा गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७९ चैत १८ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
यसैगरी १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसूरमा धनगढी उपमहानगरपालिका–५ जाईका २१ वर्षीय रामबहादुर बलायरलाई ०८० फागुन ९ गते तीन महिना कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसुर ठहर गरी तीन महिना कैद सजाय, २५ हजार जरिवाना र ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार मानबहादुर विष्टले बताउनु भयो ।
पीडित बालिकालाई ०७९ असार १५ गते आरोपितले यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले ०७९ असार १६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा यौन दुव्र्यवहार अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले ०७९ भदौ ९ गतेको आदेशमा आरोपित १ लाख रुपियाँ धरौटीमा रिहा भएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण ०७९ असार १६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।