मानव अधिकार रक्षकहरूको ०८० फागुन २ गते काठमाडौँमा भएको चौथो राष्ट्रिय भेलाका सहभागीहरूले मानव अधिकार रक्षकहरूले जोखिम मोलेर कार्य गरिरहनु परेको हुँदा रक्षकहरूको अधिकार अन्तराष्ट्रिय मापदण्डको आधारमा सुनिश्चित गरिनु पर्नेमा जोड दिएका छन् ।
भेलामा प्रस्तुत गरिएको मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा कानुन र सिभिक स्पेशको अवस्थासम्बन्धी छलफलका क्रममा विभिन्न जिल्लाहरूबाट आएका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् ।
मानव अधिकार एलाइन्स, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) र शान्तिका लागि साझा अभियान (कोक्याप) द्वारा आयोजित छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कायममुकाम सचिव मुरारीप्रसाद खरेलले मानव अधिकार रक्षकमाथि राज्यबाट वा कुनै पक्षबाट अवरोध भएमा मानव अधिकार आयोगमा तत्काल जानकारी गराउन सके सोका लागि आयोगले सहयोग गरिने बताउनु भयो ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले छलफलका लागि कार्यपत्र प्रस्तुत गर्दै मानव अधिकार रक्षकको अधिकारसम्बन्धी कानुन निर्माणमा इन्सेकले लामो समयदेखि काम गर्दै आएको बताउनु भयो । उहाँले सङ्घीय तथा सुदूरश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशका सांसद र सभासद्हरूलाई मस्यौदा कानुन माथिको छलफलमा सहभागी गारई कानुन निर्माणका लागि पहल भइरहेको बताउनु भयो ।

कोक्यापका अध्यक्ष पुष्प भुसालले केही समय यता सरकारको काम कारबाहीले सिभिक स्पेश खुम्चिदै गएकाले सिभिक स्पेश बढाउन नागरिक संस्थाहरूले ऐक्यबद्धताका साथ खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यसै गरी एलाइन्सका उपाध्यक्ष एवम् मानव अधिकार महाभेलाका पूर्व संयोजक मञ्जु गुरुङले आप्रवासी कामदारहरूको खास गरी महिलाहरूले भोग्नु परेको हिंसाका समस्याका बारेमा चर्चा गर्दै यस क्षेत्रमा काम गर्न रक्षकहरूलाई आग्रह गर्नु भयो । उहाँले आप्रवासीले भोग्नु परेका समस्याहरूको चर्चा गर्दै अविलम्व मानव अधिकार रक्षकसम्बन्धी कानुन निर्माणमा जोड दिनु भयो ।
कार्यक्रमको अध्क्षता गर्नु भएकी सिजवकी अध्यक्ष मिना शर्माले मानव अधिकार रक्षकहरूले गरिरहेको कामबाट पीडितको न्याय पाउन सहज भएको बताउनु भायो । उहाँले बालबालिकाको सिभिक स्पेशको अवस्था कमजोर रहेको पनि बताउनु भयो ।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका सहभागीहरू मध्ये नौ जना महिला र नौ जना पुरुष सहभागीहरूले मानव अधिकार रक्षक कानुन नबन्दा भोग्नु परेको समस्या र मानव अधिकार रक्षकको भूमिका बारे धारणा राखेका थिए । उक्त छलफल कार्यक्रमकाे सहजिकरण इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले गर्नु भएको थियो ।





