सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारले बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।
उनीहरूले कि सरकारले बेपत्ता पारिएका व्यक्तिको काजक्रिया गर भन्नुपर्ने कि तुरून्त अवस्था सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
बेपत्ता पारिएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भदौ १४ गते विराटनगरमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले राज्यले सधैँ ‘बेपत्ता’ भनेर उम्कन नपाउने बताए ।
बेपत्ता परिवार मोरङका अध्यक्ष तुलसी आपागाईँले अब कति वर्षबेपत्ता भनेर सम्झिरहनुपर्ने हो ? भन्दै सरकारलाई बेपत्ताको अवस्था सार्वजनिक गर्न नसक्ने भए मृत घोषणा गर्न आग्रह गरे ।
त्यसैगरी द्वन्द्वको समयमा पतिलाई बेपत्ता बनाएपछि पीडित बनेकी लिला तामाङले सरकारले अवस्था सार्वजनिक नगरेर अन्याय गरेको बताइन् । उनले बेपत्ताको अवस्था सावजनिक गर्न अब कति वर्षकुर्नुपर्छ ? भनेर सरकारलाई सोधेकी छन् ।
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका अधिकृत संन्तोष आचार्यले राज्यले बेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्ने भन्दै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको कामबाट द्वन्द्व पीडितले न्याय पाउनुपर्ने बताए ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले द्वन्द्व व्यवस्थापनमा राज्यले सोच्नुपर्ने भएपनि अहिलेसम्म व्यवस्थापन गर्न नसकिरहेको बताए । उनले मानव अधिकार र अपराध छुट्याएर राहत, क्षतिपूर्ति, न्याय दिनुपर्ने र अवस्था सार्वजनिक गर्नुपर्ने बताए । मोरङमा २३ जनालाई द्वन्द्वको समयमा बेपत्ता पारिएको तथ्याङ्क छ । सोही अनुसार पीडित परिवारले राहत रकम बुझ्दै आएको शान्ति समिति मोरङले जनाएको छ ।
यसैबिच सुन्दरहरैचा-५ स्थित हसिना सिमसार क्षेत्रमा द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा शान्ति प्रतिक्षालय निर्माण गरिएको छ ।