वीरेन्द्रनगर नगरपालिका– ६ न्युरोडस्थित उषा बालिकाटिका माध्यामिक विद्यालय अगाडि व्यापार गरेर बसेकी ४२ वर्षीया जानुका बुढालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले माघ २७ गते लाठी प्रहार गरेर घाइते बनाएको पीडितले आरोप लगाउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४५ वर्षीय प्रहरी हवल्दार कृष्ण भट्टकी ३५ वर्षीया पत्नी योजना भण्डारीसँग घरको ढोकामा आगो बालेर घरभरि धुवाँ फैलिएपछि आगो नबाल्न अनुरोध गर्दा प्रहरी बोलाएर आफूलाई कुटपिट गराएकाे पीडितले बताउनुभयाे ।
फोनकै भरमा आएका प्रहरीले यथार्थ नबुझेर कुटपिटमा उत्रिएपछि आफ्नो खुट्टा र हातमा चोट लागेको बुढाको भनाइ छ ।
पीडित र आराेपित दुबै एउटै घरमा डेरा बस्दै आएका छन् । घटनाका बारेमा दुबै पक्षलाई बोलाएर अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
पीडितकाे माघ २९ गते प्रदेश अस्पतालमा घाउजाँच गरिएको छ । घटनाको अनुसन्धानपछि कुटपिटमा संलग्न प्रहरीमाथि आवश्यक कारबाही गरिने डिएसपी शाहीले बताउनुभयो ।
