INSEC Online

📅 २०८३ श्रावण ११

सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न पाँच ओटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्युको मृत्यु भएपछि ०८३ साउन ११ गते विहान ७ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले साउन ११ गते बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको बताउनु भयो ।

आदेशमा तोकिएको सिमानाभित्र आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । जारी आदेशमा ‘यस आदेशको कोही कसैबाट उल्लङ्घन भएमा एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्नेछ ।’ उल्लेख गरिएको छ ।

प्रशासनले जिल्लाका पाँचवटा इलाकाको चारकिल्ला तोकेर उक्त सिमानाभित्र कर्फ्यु लगाएको हो । जसअनुसार इलाका ‘क’ अन्तर्गत हरिनगरा बजार क्षेत्रको पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्मको क्षेत्र तोकिएको छ । त्यसैगरी इलाका ‘ख’ अन्तर्गत भुटाहा बजार क्षेत्रको पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्मको सिमानामा कर्फ्यु लागू भएको छ ।

इलाका ‘ग’ अर्थात कसनागंज बजार क्षेत्रको पूर्वमा यादव टोल, पश्चिममा पाँचौ सिमल मावि, उत्तरमा कृष्ण मावि र दक्षिणमा नेपाल(भारत सीमा क्षेत्रसम्म आदेश लागू हुनेछ। यस्तै इलाका ‘घ’ अन्तर्गत घुस्की बजार क्षेत्रको पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्मको चारकिल्ला तोकिएको छ।

इलाका ‘ङ’ अर्थात् देवानगञ्ज बजार क्षेत्रको पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको सिमानाभित्र कर्फ्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ ।

जयकृष्ण यादव

अन्य

भिडियो