पर्वतको कुश्मा नगरपालिकाका २० ओटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका २ हजार ४ सय छात्राहरुले सेनेटरी प्याड पाएका छैनन् ।
आर्थिक वर्ष २०७९।८० मा सेनेटरी प्याड खरिदमा नगरपालिकामा विवाद उत्पन्न भएपछि खरिद प्रक्रिया रोकिएसँगै चालु आर्थिक वर्षको मध्य सम्म पनि सेनेटरी प्याड विद्यालयमा पुग्न नसकेको हो ।
विद्यालयमा समयमा प्याड नपुग्दा छात्राहरु समस्यामा परेका छन् । सङ्घीय सरकारको अनुदानमा सबै विद्यालयका छात्रालाई महिनावारी हुँदा प्रयोग गर्न सजिलो होस् भनी अघिल्लो वर्ष कुश्मा नगरपालिकालाई १२ लाख रुपियाँ सेनेटरी प्याड खरिदमा निकासा भएको थियो । खदिर कर्ता र कुश्मा नगरपालिकाका बिच विवाद भएपछि उक्त खरिद प्रक्रिया रोकिएको थियो ।
कुश्मा नगरपालिकामा सञ्चालित नारायण माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक सञ्जय रेग्मीले बालिकाहरुलाई सेनेटरी प्याड उपलब्ध नहुँदा छात्राहरु समस्यामा परेको बताउनुभयो । उहाँले कतिपय छात्राहरु महिनावारीको समयमा विद्यालय नै नआउने र आएपछि लामो समय कक्षा कोठामा बस्न नसक्ने अवस्था रहेको बताउनुभयो ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले अघिल्लो वर्ष उपलब्ध गराउन नसकिएपनि यस वर्ष केही दिन अघि सेनेटरी प्याड खरिदका लागि दरखास्त आह्वान गरिएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष ४२ हजार प्याड खरिदका लागि १५ लाख रुपियाँ बराबरको बजेटमा खरिद प्रक्रिया सुरु गरिएको छ । चालु आर्थिक वर्षको चौथो त्रैमासिकको सुरुवात सम्ममा विद्यालयमा सेनेटरी प्याड पुर्यउने गरी खरिद प्रक्रिया सुरु भएको नगर प्रमुख तिवारीले बताउनुभयो ।