बर्थिङ सेन्टरबाट रेफर गर्दा गर्भवती र परिवारले सास्ती व्यहोर्नु परेको छ । सरकारले सुरक्षित प्रसुतीकोलागि बर्थिङ्ग सेन्टर सञ्चालन गरिरहेको छ । जसका लागि भौतिक संरचना र जनशक्तिमा थुप्रै खर्च भएको छ । तर, गुल्मी जिल्लाका बर्थिङ्ग सेन्टरबाट धमाधम प्रसुतीका लागि रेफर हुँदा गर्भवती महिला र परिवारलाई सास्तीसँगै जोखिम समेत बढ्दै गएको छ ।
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार गत वर्ष ६ हप्तामा खोप लगाउन आउने बालबालिकाको संख्या ४ हजार ९६ रहेको थियो । तर, बर्थिङ सेन्टरबाट सुत्केरी गराएकाहरूको संख्या १ हजार ७ सय ५८ मात्रै रहेको छ । यो तथ्यांक हेर्दा २ हजार ३ सय ३८ जना गर्भवती महिला प्रसुतीका लागि बर्थिङ्ग सेन्टरबाट बाहिर रेफर भएको देखिन्छ ।
जिल्लामा एम्बुलेन्सको व्यवस्थापन सहि ढंगबाट हुन सकेको छैन भने समयमा एम्बुलेन्स उपलब्ध हुँदैन । पाल्पा र बुटवल दुरीको हिसावले टाढा हुने र व्यस्त अस्पतालहरूमा बेड पाउन मुस्किल पर्ने भएकाले गर्भवती महिला र परिवारले सास्ती खेप्दै आएका छन् ।
केहि समयअघि इस्मा गाउँपालिका–३ की एक महिलालाई एक्कासी प्रसुती व्याथाले च्याप्यो । गाउँबाट बल्लतल्ल तम्घास आए पनि गुल्मी अस्पतालमा केहिबेर उपचार नभए पछि बुटवल जानुपर्ने भयो । परिवारले धेरैबेर एम्बुलेन्स खोजे । कतै नपाएपछि कार रिर्जब गरेर बुटवल पुगे । तर, लुम्बिनी प्रादेशिक अस्पतालमा बेड पाउनका लागि निकैबेर कोशिस गरेपछि व्यावस्थापन भयो ।
जिल्लामा इस्माकी महिलाले जस्तै अस्पतालमा डाक्टर, बेड र एम्बुलेन्सको सुनिश्चता नगरेरै रेफर गर्दा गर्भवती र परिवारले दुख पाउने गरेका छन् ।
०७८ सालको जनगणना अनुसार गुल्मीमा प्रति लाख १ सय ९८ मातृमृत्यु रहेको छ । लुम्बिनी प्रदेशमा मातृमृत्युको संख्या बाँके, कपिलवस्तु र बर्दियापछि गुल्मीको रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
स्वास्थ्य कार्यालय गुल्मीले बर्थिङ्ग सेन्टरबाट प्रसुतीका लागि गर्भवती महिलाहरु रेफर हुने क्रम बढ्दै गएपछि जटिल प्रसुती व्यावस्थापनको लागि प्रेषण प्रणाली सुदृढीकरण गर्न लागेको स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले बताउनु भयो । सोहि अवस्थाको अन्त्यको लागि जिल्लाका ६६ वटा बर्थिङ्ग सेन्टरका नर्सिङ स्टाफ, गुल्मी अस्पताल, गुल्मी अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टरसहित प्रसुती कक्षमा कार्यरत स्टाफ र लुम्बिनी प्रादेशिक अस्पतालको नर्सिङ स्टाफहरूको अभुमुखिकरण गरेर योजना समेत निर्माण गरिएको थापाले जानकारी दिनुभयो ।
अब जिल्लाका बर्थिङ्ग सेन्टरबाट रेफर गर्दा स्वास्थ्य संस्थामा डाक्टर, बेड र आवश्यक उपकरणको सुनिश्चता नगरि गर्भवती रेफर गर्न पाइँदैन् । गाउँका बर्थिङ्ग सेन्टरबाट रेफर हुने गुल्मी अस्पताल, लुम्बिनी मेडिकल कलेज पाल्पा र लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ्ग इन्चार्जहरू, स्वास्थ्य कार्यालय गुल्मी र अर्घाखाँची तथा स्वास्थ्य निर्देशनालयका फोकल प्रर्सनहरूको आधिकारीक मोवाइल नम्बर सबै बर्थिङ्ग सेन्टरहरूमा वितरण गर्ने, एम्बुलेन्स चालकहरूलाई सचेत बनाउने, उनीहरूको मोवाइल नम्बर अपडेट गर्ने लगायतका काम गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताउनु भयो ।
चालु आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी दर्लामचौर स्वाचौकीबाट २७ जना रेफर भएका छन । एसबिए तालिम प्राप्त दक्ष प्रसुतीकर्मी नभएका कारण प्रसुतीका लागि थुप्रै गर्भवती महिलाहरू रेफर भएका हुन् ।
दर्लामचौर स्वाचौकीको बर्थिङ्ग सेन्टरबाट सात महिनामा चार जना मात्रै प्रसुती भएको जनस्वास्थ्य अधिकृत आचार्यले जानकारी दिनुभयो । बर्थिङ्ग सेन्टरहरूमा एसबिए तालिम प्राप्त जनशक्तिहरुको सही व्यावस्थापन भइसकेको छैन् ।
जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्रीले दुर्गम ठाउँमा एसबिए जनशक्तिको उचित व्यावस्थापन नभएको बताउनु भयो । उहाँले कतै एकजना पनि नहुने कतै जनशक्ति थुप्रिने अवस्था रहेकाले पुरानो दरबन्दीमै सरुवा गरेर सेवा प्रवाह सजिलो बनाउने र प्रदेशले दुर्गमका संस्थामा एसबिएको तालिम बढाउनु पर्नेमा जोड दिनुभयो ।