INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सुरक्षा भत्ता लिन अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरूलाई सास्ती

सामाजिक सुरक्षा भत्ता लिन अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरूले सास्ती खेप्नु परेको छ ।

गुलरिया नगरपालिका– ११ लालपुरका ८० वर्षीय छोटकहु तेली सामाजिक सु्रक्षा भत्ता भत्ता लिन बैंकसम्म लडिया आउनु भएको छ । हिडडुल गर्न नसक्ने  भएपछि तेलीलाई सामाजिक सुरक्षा भत्ता लिन सात किलोमिटरको दुरीका रहेको बैंकसम्म गोरूगाडामा  ल्याइएको हो ।

छोटकहु तेलीका छोरा हनिफ तेली बुवाको उपचार लगायतको कागजात लिएर बैंकमा जानु भएको थियो । भने बुवा लडिया सुतेर पालो कुरीरहनु भएको थियो । केही बेरपछि बैंकको एकजना कर्मचारीले चेकमा औठा छाप लगाउन छापदानी लिएर आउनु भयो र चेकमा तेलीको औठाछाप लगाएर जानु भयो ।

हनिफले बुवाको खुट्टा भाचिएर बर्दिया अस्पताल गुलरिया ल्याएका थिए । “अस्पतालले जिल्लामा उपचार हुन नसक्ने भनेर रिफर गरेको  छ ।  घरमा उपचार रकम नभएकोले बुवाको भत्ताले केही भएपनि औषधि उपचार गर्न जाँदा सहयोग हुने भएकोले भत्ता निकाल्न आएका हौ ।” हनिफले भन्नु भयो ।

छोटकहु तेली मात्र हैन सामाजिक सुरक्षा भत्ता लिन आउने धेरै जसो ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले यस्तै सामना गरी रहेका छन् ।

नेपालको संविधानले ज्येष्ठ नागरिको हकमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक व्यवस्था गरेको छ । भने सामाजिक न्यायको हक अन्र्तगत अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधाका समान पहुचको हकको व्यवस्था रहेको छ ।

वडा कार्यालयबाट वितरण हुदै आएको सामाजिक सुरक्षा भत्तालाई सरकारले बैंकिङ प्रणालीबाट वितरण सुरू गरेको छ । शारिरीकरुपमा समेत कमजोर हुने ज्येष्ठ नागरिक र अपाङ्खता भएकालाई  बैंकिङ प्रणालीबाट भत्ता लिन अनेक सास्ती भोग्दै आउनु परेको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लामा ८० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिक ३ हजार ९ सय ३७ जना रहेका छन् ।  ‘क’ वर्गका अपाङगता १ हजार २ सय ९६ जना र ‘ख’ वर्गका अपाङगता ३ हजार ५९ जना रहेका छन् ।

स्वास्थ्य बिमा बोर्ड बर्दियाका दर्ता अधिकारी डिकेन्द्रबहादुर बिष्टले ७० वर्षमाथि १६ हजार ९ सय ५८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा रहेको बताउनु भयो ।

बर्दिया नेत्रहीन संघका सचिब गुलरिया नगरपालिका–४ का ५१ वर्षीय प्रेमप्रसाद अधिकारीले ज्येष्ठ नागरिक तथा अपाङ्गताले सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकभित्र सबै नअटाउने भएकोले बैंक बाहिर लाइन लागेर बस्नुपर्ने अवस्था अझै रहेको बताउनु भयो । उहाँले भत्ता बुझ्ने पालो पाएपछि मात्र  बैंकले  भित्र बोलाउछ, त्यती बेलासम्म बैंक बाहिर पालो कुरेर बस्नुपर्ने बाध्यता रहेको बताउनु भयो ।

‘सामाजिक सुरक्षा भत्ता परिवारको सदस्यलाई मन्जुरीनामा दिएर बैंकबाट पैसा निकाल्ने व्यवस्था छ । तर परिवारको सदस्यले खर्च गरिदिदाँ त्यो भत्ता सम्बन्धित व्यक्तिसँग पुग्दैन् । त्यही भएर वडाका जनप्रतिनिधि तथा बैंकको कर्मचारीले भत्ता सम्बन्धित व्यक्तिसम्म पुर्याउने व्यवस्था मिलाउन जरूरी रहेको छ ।’ अधिकारीले भन्नु भयो ।

बर्दिया अपाङ पुर्नस्थापना केन्द्र बर्दियाका महासचिव बढैयाताल गाउँपालिका –८ का दलबहादुर सुनारले अपाङ्गता तथा ज्येष्ठ नागरिक शारिरीकरुपमा कमजोर हुन्छन् । घरबाट बैंक टाढा हुदा ६ , सात किलोमिटर दुरीका रहेको बैंकमा भत्तामा लिन जानुपर्ने बाध्यता रहेको  बताउनु भयो ।

‘अपाङगता तथा ज्येष्ठ नागरिकलाई भत्ता लिन जाँदा एक जना सहयोगीको आवश्यकता हुन्छ । तर कसैको बैंकसम्म लैजाने सहयोगी नहुदाँ अझ धेरै समस्या हुने गरेको छ । भने बैंकहरू पनि अपाङगमैत्री नहुदा समस्या भोग्नु परेको छ । अपाङ्गता र ज्येष्ठ नागरिकले भत्ता लिन जादाँ बैंक बाहिर कुरेर बस्नुपर्ने बाध्यताको अन्त्य गरी घरबाट सेवा पाउने व्यवस्था मिलाउन जरूरी रहेको छ ।’ सुनारले भन्नु भयो ।

इच्छाइएको व्यक्ति समाजिक सुरक्षा भत्ता बुझेर सम्बन्धित व्यक्तिले पाउन नसक्ने जोखिमले गर्दा अपाङ्गता भएका र ज्येष्ठ नागरिक आफै बैंकसम्म पुग्नु पर्ने बाध्यता रहेको छ ।

अन्य

भिडियो