नेपाल सरकारले सबै स्थानीयतहमा अस्पताल बनाउने कार्ययोजना अनुरुप थालिएको मंगला गाउँपालिकाको अस्पतालको भवन निर्माणको समय सकिएको भए पनि सम्पन्न हुन नसक्दा निर्माणधिन अस्पताल भवन हाल अलपत्र जस्तै भएको छ ।
निर्माणको जिम्मा लिएको ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण उक्त अस्पताल भवन निर्माणको कार्य विगत डेढ वर्ष देखि ठिक तबरले अगाडी बढ्न सकेको छैन । २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भवनको भौतिक प्रगति १० प्रतिशत मात्रै भएको छ ।
मंगला गाउँपालिकाका साथै बेनी नगरपालिकाको ४ नम्बर वडाका केहीले सेवा लिन सक्ने उक्त अस्पताल भवन निर्माण हुन ढिलाई हुँदा सर्वसाधारणहरुले जिल्ला सदरमुकाम पुग्नु पर्ने बाध्यता भएको छ । अस्पताल बनेपछि गाउँमै सेवा लिने आशा थियो तर भवन निर्माण नै कहिले हुने टुंगो नहुँदा निराश बनेका छौ– स्थानिय वासिन्दा चिरञ्जीवी शर्माले भन्नुभयो ।
सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पतालन संचालन गर्ने योजना अनुसार २०७७ पुस १५ गते गाउँपालिकाको वडा नम्बर ५ स्थित हाँडेभिरमा अस्पताल भवनको शिलान्यास गरिएको थियो । अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौंसँग दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमै ९ करोड ११ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियोे ।
मुख्य ठेकेदारबाट पेटी ठेक्का लिएका ठेकेदारले समयमै काम नगर्दा योजना समयमै सम्पन्न हुन नसकेको गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर नगेन्द्र सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो –‘भवन निर्माणलाई गति दिन गाउँपालिकाले पटकपटक ताकेता गर्दा पनि ठेकेदारले खासै चासो दिएनन् मुख्य ठेकेदार र पेटी ठेकेदारका बीच आपसी विवादका कारण भवन निर्माणले समयमै गति लिन नसकेको हो ।’
गाउँपालिकाले पटक पटक पत्राचार गरेपछि मुख्य ठेकेदार दिपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुरुप केही दिन पहिला काममा केही मजदुर खटाइएको उहाँले बताउनुभयो । २०८१ असार मसान्त सम्म ठेक्का सम्झौताको म्याद थपिएको उहाँले जानकारी दिनुभयो ।
भवन निर्माणको काम समयमा अगाडि नबढ्दा सङ्घीय सरकारबाट प्राप्त हुने बजेट प्राप्त गर्न कठिनाई भएको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । ‘योजनाको कार्यसम्पादन प्रगति प्रतिवेदनका आधारमा मात्र बजेट प्राप्त हुने हो । तर ठेकेदारले काम नगर्दा बजेट आउने कुरा पनि भएन’ उहाँले बताउनुभयो ।
आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको ३५ कोठा भएको अपाङ्गमैत्री भवन निर्माण हुने योजना रहेको छ । अस्पतालका लागि गाउँपालिकाले अर्मन स्वास्थ्यचौकी परिसरमा आठ रोपनी जग्गा व्यवस्थापन गरेको थियो ।
