कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निशुल्क उपचार सुरू भएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा ०८० माघ १५ गतेदेखि निशुल्क उपचार सेवा सुरू भएको हो ।
स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेर १० वर्ष मुनि उमेर समूहका बालबालिकाको निशुल्क उपचार माघ १५ गतेदेखि सुरू भएको हो ।
प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डाक्टर सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट माघ १५ गते औपचारिक रूपमा बालबालिकाहरूको निशुल्क उपचार सेवा सुरू गर्नु भएको हो ।
प्रदेश सरकारको निशुल्क उपचार सेवा कोशी प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन् । प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डाक्टर देवकोटाले भन्नुभयो–निशुल्क उपचार सेवा लिन बालबालिका बिरामी हुने बित्तिकै नजिकको स्वास्थ्य चौकीमा उपचार गराउन लग्ने तर त्यहाँ नभएपछि नजिकको अस्पतालमा रेफर गर्ने, अस्पतालमा पनि उपचार सम्भव नभएको अवस्थामा मात्रै निशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित यी तोकिएको अस्पतालमा उपचारका लागि आउनुपर्नेछ ।
निशुल्क आकस्मिक सेवा (इमेर्जेन्सी सेवा) लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकोटाले बताउनु भयो । निशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोकेबमोजिमको दवाईसमेत प्रदेश सरकारले निशुल्क उपलब्ध गराउने व्यवस्था भएको डाक्टर देवकोटाको भनाइ छ ।
झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निशुल्क उपचार सेवा सुरू गरेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेशमा मानवीय विकासका लागि चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा १० वर्षमुनिका बालबालिकाको निशुल्क उपचार गर्ने उल्लेख छ ।
नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य अधिकारलाई ब्याख्या एवम् व्यवस्था गरेको छ ।
