आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी चौकुने गाउँपालिका– ७ की २५ वर्षीया गीता पल्लीमगर तामाङ्गलाई माघ ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।
भोजपुर जिल्ला सानोदुम्बा गाउँपालिका–५ का खगेन्द्र तामाङ्गले छोरासहित उहाँलाई जन्मदर्ता विवाह दर्ता नबनाएर हिंसा गर्दै घरबाट निकाला गरेका थिए । सोही विषयमा खाना खर्च, अंश र नातासहितकोे मुद्दा प्रकृयामा जान समस्या भइरहेकोले आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको पीडितले बताउनुभयो ।
मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा पुस २६ गते निवेदन दिनुभएको थियो । निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको माघ ४ गते बसेको बैठकको निर्णय अनुसार नगद छ हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनभयो ।
पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ । संयोजक सुवेदीले इन्सेकको सहयोगले कानुनी प्रकृयामा केही सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
