कोशी प्रदेश सरकारले मोरङका तीन ओटा र झापाको एक ओटा अस्पतालसँग दश वर्षमुनिका बालबालिकाको निशुल्क उपचार गर्ने गरी सम्झौता गरेको छ ।
प्रदेश सरकारले बालबालिकाको स्वास्थ्य अधिकारलाई सम्बोधन गर्ने गरी प्रदेशभरिका दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने सम्झौता गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले चार ओटा निजी अस्पतालसँग ०८० माघ ७ गते निशुल्क उपचार गर्ने सम्झौता गरेको छ ।
मन्त्रालयले हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल मोरङ र काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमक, झापासँग दुई पक्षीय सम्झौता गरेको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सुधा देवकोटा, काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकका डाक्टर भगवान कोइराला, नोबेल अस्पतालका निर्देशक डाक्टर राजेश नेपाललगायतले दुई पक्षीय सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।
बालबालिकाको निशुल्क उपचार गर्ने सम्झौतापछि कोशी सरकारका मुख्यमन्त्री केदार कार्कीले अब बालबच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जानु नपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘बालबालिका बिरामी भएपछि अस्पतालमा भर्ना गरेर ऋण खोज्न जाने, उपचार शुल्कमा छुट गराउनका लागि नेताको घर धाउने र उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक हुनुपर्ने वा उपचार अभावमा ज्यान गुमाउनुपर्ने दिनको कोशी प्रदेशमा अन्त्य भएको छ’
कोशी प्रदेशमा पाँच वर्षमुनिका १ हजार बालबालिकामध्ये ३४ जनाको उपचार अभावमा मृत्यु हुने गरेको छ ।
सरकारले नै कोशी प्रदेशमा निःशुल्क उपचार गर्ने भएपछि बालमृत्युदर कम हुने कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
