INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरपालिकाकै वडामा विद्युतको लाइन बिस्तार नहुँदा १६ घरधुरी अन्धकारमा बस्न बाध्य

गुलरिया नगरपालिका- १० लड्कनीयाका विद्युत लाइन बिस्तार नहुँदा १६ घरधुरी परिवार अझै अँध्यारोमा बस्न बाध्य छन् ।

गुलरिया नगरपालिकाको कार्यालयबाट पाँच किलोमिटर दुरीका रहेको उक्त गाउँ नेपाल भारतको  सिमा स्तम्भबाट लगभग एक सय मिटरको दूरीमा रहेको छ । आर्थिक,  सामाजिक, लगायतको अधिकारबाट वञ्चित रहेका  १६ घरधुरीका ७५ जना उपभोक्ता विद्युतको पहुँचबाट वञ्चित हुनु परेको छ ।

विद्युत बाहेक लड्कनीया गाउँमा सामान्य आधारभुत सेवा पुग्न सकेको छैन । उक्त गाउँमा  खानेपानीको सुविधा छैन् भने सडकको राम्रो व्यवस्थापन हुन सकेको छैन् ।

स्थानीयले वडा अध्यक्षलेनै आफ्नो समस्या समाधान गर्ने हो भन्ने बुझे पनि पटक पटक विद्युत लाइन विस्तार गर्ने माग सुनुवाइ हुन सकेको छैन् ।

गुलरिया नगरपालिका- १० लड्कनीयाका ४१ वर्षीया बिध्धी गोडियाले वडा अध्यक्षलाई विद्युतको पोल र तारको व्यवस्थापन गरी दिन पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको बताउनु भयो । ‘विद्युत कार्यालयमा गएर पोल माग गर्नका लागि आग्रह गर्दा वडा अध्यक्षले आफू व्यस्त भएको बताउनु हुन्छ । त्यही भएर विद्युत कार्यालयसम्म जान सकेको छैनौ ।’ गोडिया भन्नु भयो ।

त्यसैगरी लड्कनीयाका ३७ वर्षीय दयाराम गोडिया  विद्युतको पहुँच नहुँदा बालबालिकाको पठनपाठनमा असर परेको बताउनु हुन्छ । विद्यालयबाट आएपछि बालबालिका खेल्ने र घरको काम सघाउछन्  साँझ परेपछि अध्यारो हुन्छ । बिद्युत नभएकोले  बालबालिकाको पठन पाठनमा समेत असर परेको उहाँको भनाइ रहेको छ ।

गुलरिया नगरपालिका वडा -१० का वडा अध्यक्ष लक्ष्मी नारायण लोधले वडा कार्यालयले ५ लाख रूपियाँ बिद्युत पोल र तारको लागि छुट्टाएको बताउनु भयो । त्यही बजेटबाट लड्कनीया गाउँमा विद्युतको लागि वडाले बजेट व्यवस्थापन गरेकोले विद्युत प्राधिकरण वितरण केन्द्र गुलरियामा पोल र तार नमागेको बताउनु भयो ।

नेपालको संविधान २०७२ ले मौलिक हकको रूपमा उपभोक्ता अधिकारलाई स्थापित गरी यसको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता संरक्षण ऐन ०७५ को व्यवस्था समेत गरेको छ । त्यसैगरी उपभोक्ता संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसंघिय दिग्दर्शन १९८५ र आयोगको उपभोक्ताको मानव अधिकार अनुगमन निर्देशिका २०६८ ले पनि उपभोक्ता अधिकार वस्तु तथा सेवा प्रदायकहरूको जवाफदेहिता सम्बन्धी व्यवस्था गरेको छ ।

संविधान र ऐनमा उपभोक्तासम्बन्धी व्यवथा गरे पनि गुलरिया नगरपालिका-१० लड्कनीयाका १६ घरधुरीका ७५ जना उपभोक्ता विद्युतको  पहुँच बाहिर रहेका छन् ।

अन्य

भिडियो