नवलपुर टुडेका सम्बाददाता तथा पत्रकार कटहरिया नगरपालिका-८ पिपरा पाेखरियाका ३२ वर्षाीय अशाेक यादवमाथि ०८० पुस २६ गते साेही वडाका जितेन्द्र यादव, सिकिन्द्र यादव, छोटेलाल राय, प्रिन्स जयसवाल तथा समुन्द्र बिक्रम साह भनिने पर्शुराम साहले गरेकाे कुटपिट तथा दुर्व्यवहारकाे घटना सार्वजनिक भएकाे छ ।
कटहरिया नगरपालिका-८ मा निर्माण गरिएकाे सार्वजनिक प्रतिक्षालयलाई निजि प्रयोजनको निम्ति प्रयोग गरिएको भनि समाचार लेखेको निहुँमा आफूमाथि कुटपिट तथा दुर्व्यवहार भएकाे पत्रकार यादवले बताउनु भयाे ।
पीडित पत्रकारलाई काटहरिया नगरपालिका-९ डुमरियाबाट साेही नगरपालिकाकाे वडा न.८ पिपरा पोखरिया आउने क्रममा बीच बाटोमा रोकी चौतर्फी घेरा हाली धारिलो हतियार (फाईटर) लगायतको सामाग्रीकाे प्रयोग गरी आराेपितहरुले आफूमाथि कुटपिट गरेकाे पीडीत यादवले बताउनु भयाे ।
कुटपिटका कारण पीडित यादवकाे आँखा र मुखमा गम्भिर चाेट लागेकाे छ । पीडितकाे सामान्य स्वस्थ्य उपचार घटना भएकै दिन कटहरीया अस्पतालमा भयाे र आँखाकाे थप उपचार गाैर अस्पतालमा भयाे ।
यसैबीच प्रेस चौतारी रौतहटले एक प्रेस विज्ञप्ति जारि गर्दै घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिई सत्य तथ्य पत्ता लगाई कारवाही गर्न र पत्रकारलाई निर्भीक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेकाे छ ।