चौतारा सागाचोकगढी नगरपालिका-१ स्थित स्याउले बजारमा रहेको स्याउले स्वास्थ्य चौकीमा नेपाल सरकारले निःशुल्क वितरण गरिने भनिएको सबै औषधि उपलब्ध नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
सरकारले स्वास्थ्य चौकीबाट ९७ प्रकारका औषधिहरू सेवाग्राहीलाई निःशुल्क वितरण गर्ने भनिएको छ । तर स्याउले स्वास्थ्य चौकीमा ३६ किसिमका औषधि मात्र रहेको छ । स्वास्थ्य चौकीको रेकर्डमा भने ६३ किसिमका औषधि भएको उल्लेख भए पनि ब्याण्डेज सहित ३६ किसिमको औषधि रहेको स्याउले स्वास्थ्य चौकीकी अनमी कुसुम कार्कीले बताउनु भयो ।
चार जना स्वास्थ्य कर्मीको दरबन्दी भए पनि दुई जनाले मात्र बिरामीहरूको स्वास्थ्य उपचार गर्दै गरेको अवस्था र स्वास्थ्य चौकी प्रमुख अभिषेक गिरी औषधि लिनको लागि नगरपालिका गएको अनमी कार्कीले बताउनु भयो । दम र खोकीको बिरामी भएर स्वास्थ्य चौकी पुगेकी स्याउलेकी ६७ वर्षीया आशामायाँ तामाङले दमको औषधि नपाएर रित्तैहात फर्कनु परेको बताउनु भयो ।
स्वास्थ्य चौकीमा औषधि अभाव भएको बारे चौतारा सागाचोकगढी नगरपालिका-१ का वडा अध्यक्ष युवलाल श्रेष्ठसँग सम्पर्क गर्दा केही औषधिको अभाव हुने भए तापनि अपुग भएका औषधिहरू नगरपालिकाबाट उपलब्ध हुने जानकारी दिनुभयो ।
