INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा एक वर्षदेखि शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित

बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुला स्थित दलित जनता आधारभूत विद्यालयमा एक वर्षदेखि शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा एक वर्षदेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुदै आएको छ । विद्यालयमा स्थायी दरबन्दी नभएको र नगरपालिकाले वजेटको अभाव देखाउँदै करार अनुदानमा शिक्षक भर्ना नगरिदिँदा विद्यालयमा कार्यालय सहयोगीको जिम्मेवारीमा पुगेको हो । कार्यालय सहयोगी समेत एक जनामात्रै छन् । विगत एक वर्षदेखि बालविकास देखि कक्षा–३ सम्मको पठनपाठन र विद्यालय सञ्चालन गदै आएकी कार्यालय सहयोगी खगिसरा थापाले बताउनुभयो ।

विद्यालयमा स्थायी दरबन्दी नहुनु र करारमा शिक्षक भर्ना नहुदा सिंगो विद्यालय आफूले नै हेर्दै आएको उहाँको भनाइ छ । ‘शिक्षक भने पनि, कार्यालय सहयोगी भनेपनि म एक्लै छु, ताल्चा लगाएर घर जान मन मान्दैन्, जसोतसो आफुले जानेका कुरा विद्यार्थीलाई सिकाउदैँ आएकी छु’ उहाँले भन्नुभयो ‘सबै विद्यार्थीलाई एउटै कोठामा राख्ने गरेकी छु ।’  २०६२ सालमा स्थापना भएको विद्यालयमा ५० जनाबढी विद्यार्थी भर्ना भएका छन । तर पठनपाठन गराउने शिक्षक नहुदा केही विद्यार्थी अर्को विद्यालयमा गए भने केहीले नियमित विद्यालय आउन छोडे । अहिले पनि २५ जनाबढी बिद्यार्थी नियमित विद्यालयमा आउने गरेको उहाँको भनाइ छ । ‘एक्लैले छुट्टा–छुट्टै कक्षामा पढाउन सम्भव छैन्, अहिले सबैलाई एकै कक्षामा राखेर सिकाउँछु’ उहाँले भन्नुभयो ।

यस अघि करारमा भर्ना भएका शिक्षक हिरालाल डाँगी थिए । तर नगरपालिकाले करार अवधि थपेन । अर्को शिक्षकको बन्दोबस्त गरिदिन नगरपालिकालाई आग्रह गर्दा आर्थिक अभाव देखाएर शिक्षक भर्ना गर्न अस्वीकार गरेको स्थानीय बताउँछन् ।

बनगाड कुपिण्डे नगरपालिका–१२ का पुर्ववडाअध्यक्ष गोविन्द डाँगीले शिक्षक नहँुदा यस विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठन प्रभावित भएको बताउनुभयो ।  ‘शिक्षक दरबन्दी छैन, निजी श्रोतबाट राख्न सक्ने अवस्था छैन, कार्यालय सहयोगीले पुरै विद्यालय हेर्नुपरेको छ’ उहाँले भन्नुभयो ‘कार्यालय सहयोगीको भरमा चलेको विद्यालयबाट विद्यार्थीले के सिक्छन् ? उनीहरुको भविष्य के हुन्छ ?’ यता नगरपालिकाले भने पालिकाभित्र शुन्य दरबन्दीका ६ ओटा विद्यालय रहेको जनाएको छ ।

शिक्षा शाखा प्रमुख चक्र बहादुर रावतले दरबन्दी शुन्य भएको र शिक्षकको अभावमा पठनपाठन प्रभावित भएका बिद्यालयको पठनपाठन नियमित बनाउने कार्यमा नगरले चासो राखेको बताउनुभयो । ‘नगरपालिकामा शुन्य दरबन्दीका ६ ओटा विद्यालय छन्, दरबन्दी मिलान र विद्यालय समायोजनको काम अघि बढेको छ, जतिसक्दो चाँडो विद्यालयमा शिक्षक व्यवस्थापन गर्ने र विद्यार्थीको पठनपाठन नियमित बनाउनेमा नै केन्द्रित छौँ’ उहाँले भन्नुभयो ।

अन्य

भिडियो