बाढीले ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएपछि महामारी फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
स्थानीय प्रशासन, स्वास्थ्य संस्थाहरू र गैरसरकारी संस्थाहरूको सहयोगमा मन्त्रालयले जिल्लाका ६ ओटा निर्वाचन क्षेत्रका विभिन्न २६ स्थानमा दुई जना विशषेज्ञ डाक्टरसहित ४ सय जना स्वाथ्यकर्मीहरूको टोलीसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताएका छन् ।
शिविरमा चेकजाँचसँगै महामारीबाट बच्न प्राथमिक स्वास्थ्य उपचारकोसमेत जानकारी गराउने गरिएको जनाइएको छ ।
शिविरमा गम्भीर बिरामी भेटिए धरानस्थित विपी अस्पतालसँगै जनकपुर अस्पताल, जानकी मेडिकल कलेजलगायतका अस्पतालहरूमा ‘रिफर’ गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म गम्भीर प्रकृतिका कुनै रोग देखा नपरेको शिविरको अनुगमन गर्न पुगेको स्वास्थ्य मन्त्रालयको टोलीले जनाएको छ ।
अहिले झाडापखला र टाइफाइडको सङ्क्रमण पाइएको स्वास्थ्यकर्मीहरूले अनुगमन टोलीलीलाई जानकारी गराएका छन् ।
यसैगरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार बाढी पीडितहरूको सङ्कलित तथ्याङ्क अनुसार एकडाराबेला गाउँपालिकाको ९ सय ८२ घरधुरी, औरही गाउँपालिकाको ४ सय १२, गौशाला नगरपालिकाको १ सय १७, जलेश्वर नगरपालिकाको २ हजार ४०, पीपरा गाउँपालिकाको २ सय ९५, वर्दिवास नगरपालिकाको ५०, बलवा गाउँपालिकाको ४ सय २६, भङ्गहा नगरपालिकाको ४ सय २२, मटिहानी गाउँपालिकाको ४ सय ९५, मनरा गाउँपालिकाको १ हजार १ सय ८३, महोत्तरी गाउँपालिकाको ३ सय ६२, रामगोपालपुर गाउँपालिकाको ३ सय ६९, लोहारपट्टी गाउँपालिकाको ४ सय ४८, सम्सी गाउँपालिकाको ५ सय ३५ र सोनमा गाउँपालिकाको नौ घर धुरीमा क्षति भएको छ ।
महोत्तरीमा डुबानका कारण २२ हजार ५ सय हेक्टर धानखेत नष्ट भएको जनाइएको छ । हालसम्म चार जनाको मृत्यु र एक जना बेपत्ता छन् ।