INSEC Online

📅 २०८३ जेष्ठ २१

राज्यद्वारा बेपत्ता पारिएका पीडित परिवारको गुनासोः हामीले न्याय कहिले पाउँछौं ?

२०५५ साल पुष २४ गते तनहुँको खैरेनीटार जाम्दीबाट राज्यपक्षले गिरफ्तार गरि बेपत्ता बनाएका गोरखाका राजेन्द्र ढकालको छोरी मन्जिमा ढकालले आफुहरुले कहिले न्याय पाउने हो भनेर प्रश्न गर्नु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलचौताराका तत्कालीन इन्स्पेक्टर कुशबिक्रम राणाको नेतृत्वको प्रहरी टोलीले नुहाउँदै गर्दाको अवस्थामा राजेन्द्रलाई गिरफ्तार गरि बेपत्ता पारिएको थियो । सोही दिन राजेन्द्रसँगै गिरफ्तार परेका अन्य दुई शिक्षकहरु भने केही दिनमै रिहा भए । तर गोरखा जिल्ला बार एसोसियसनका तत्कालिन अध्यक्ष समेत रहेका राजेन्द्रको अवस्था भने  २५ वर्ष पुग्दा सम्म अज्ञात रहेको छ ।

यो बिचमा उहाँको परिवार न्याय माग्दै अधिकारकर्मी, राष्ट्रिय मानव अधिकार आयोग, राजनीतिक दलहरू देखि सर्वोच्च अदालतको ढोकासम्म पुगेका थिए, तर राजेन्द्रको अवस्था पत्ता लाग्न सकेको छैन ।

देश शान्ति प्रक्रियामा आएको पनि वर्षौ भइसक्यो् २०६४ सालमा सर्वोच्च अदालतले राजेन्द्र ढकाल लगायतको मुद्दामा फैसला गर्दै बेपत्ता नागरिकको अवस्था सार्वजानिक गर्ने प्रक्रिया तुरुन्त टुङ्याउन आदेश दिएपनी राजेन्द्र जस्ता हजारौं बेपत्ता पारिएका नागरिकको अवस्था अझै पनि सार्वजानिक भइसकेको छैन । प्रस्तावित बेपत्ता छानविन आयोग संसदको समितिमै अड्किएको छ । संसदले उक्त आयोग सम्बन्धि कानुन पारित गरेर आयोग नबन्दासम्म हजारौं राजेन्द्रहरुको अवस्था सार्वजानिक हुने स्थिती पनि छैन ।

राजेन्द्रकी छोरी मन्जिमा ढकालले आफुहरुले कहिले न्याय पाउने हो भनेर प्रश्न गर्नु भएको छ । ‘विभिन्न स्वार्थ समूहहरुको प्रयोग र बेवास्ताको कारण हामी हजारौं द्वन्द्व पीडित परिवार परिरह्यौ’ उहाँले भन्नु भयो ‘यस प्रक्रियामा भैरहेको ढिलाइले हामी चरम निराशामा छौ, हाम्रा धेरै आशाहरु निराशामा परिणत भएका छन् ।’ आफुहरुलाई कसैको सहानुभुती भन्दा पनि न्याय चाहिएको भन्दै मन्जिमाले तत्कालीन द्वन्द्वरत मुख्य पक्ष नेकपा माओवादी सरकारमा भएको यसै समयमा न्याय प्रत्याभुति हुने गरि यस प्रक्रियालाई टुङ्याउन नेतृत्वदायी भुमिका खेलोस भन्ने अपेक्षा रहेको बताउनु भएको छ ।

बेपत्ता ढकालका भाई रविन्द्रले तत्कालिन इन्सपेक्टर राणालाई गिरफ्तार गरी अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०६४ जेठ १८ गते राणालाई गिरफ्तार गर्ने आदेश दिएपनि हालसम्म राणामाथी कुनै अनुसन्धान नभएको रविन्द्रले बताउनुभयो ।

manjima dhakal

अन्य

भिडियो