महादेवा गाउँपालिका–१ पकरीका ९ वर्षीय कमल यादवको हत्या आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ प्रसवनीका ५८ वर्षीय शिक्षक बसन्त कुमार चौधरीलाई ०८० पुस २१ गते गिरफ्तार गरेको छ ।
शिक्षक चौधरीले ०७८ फागुन २३ गते कालोपाटी सफा गर्ने डस्टरले टाउकोमा प्रहार गर्दा महादेवा गाउँपालिका–१ पकरीस्थित राष्ट्रिय प्राथमिक विद्यालय सोनरामा कक्षा २ मा अध्ययनरत बालक घाइते भएका थिए । घाइते बालकको युनिक सिटी अस्पताल राजविराजमा उपचार पश्चात घरमा लगेर औषधी सेवन गराई थप उपचारका लागि पैसाको जोहो गरिरहेका बेला बालकको ०७८ चैत ५ गते विहान मृत्यु भएको पीडित परिवारले बताए । शवको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा चैत ५ गते पोष्टमार्टम भएको थियो ।
मृतकका आफन्त नरेशकुमार यादवले ०७९ चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा शव सदगतका लागि निवेदन दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले ०७८ चैत १४ गते ज्यान सम्बन्धी कसुरमा उजुरी दर्ता गरेको थियो । मृतकका बुवा डम्बर नारायण यादवले आरोपितविरुद्ध ०८० कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभए पछि कर्तव्य ज्यान सम्बन्धी उजुरीमा परिणत भएको थियो । तत्कालिन शिक्षक हाल प्रधानाध्यापक छन् ।