INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कारका कसुरदारलाई जन्मकैद फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ज्येष्ठ नागरिक नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई जिल्ला अदालतले जन्मकैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसुरदारलाई २५ वर्ष कैद, ७ लाख रुपिंयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैंयाँ रुपियाँ पीडित राहतकोषमा जम्मा गर्नुपर्ने फैसला भएको श्रेस्तेदार उपसचिव बद्री लामिछानेले जानकारी दिनुभयो ।

बालिकालाई ०७९ चैत २३ गते बलात्कार गरेको कुरा स्वास्थ्य परीक्षण रिपोर्टमा समेत पुष्टी भएको आधारमा उक्त फैसला भएको जनाइएको छ । कसुरदारलाई बलात्कार घटनाकै दिन चैत २३ गते हिरासतमा लिइएको र पीडितको स्वास्थ्य परीक्षण पनि जिल्ला अस्पतालमा त्यही दिन भएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी अभियोग दर्ता गराएको थियो ।

अभियोग सम्बन्धमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाइएको थियो । बलात्कृत बालिका १० वर्ष भन्दा कम उमेरकी भएको कारण कसुरदारलाई १० वर्ष कैद गरिएको हो ।

मुलुकी अपराध सहिंता २०७४ को दफा २१९ को उपदफा ३ मा पीडितको उमेर अनुसारको कैद सजाय व्याख्या गरिएको छ । जसमा १० वर्ष भन्दा कम उमेरकी बालिकालाई बलात्कार गर्ने जन्मकैद, पीडित १०–१४ वर्ष उमेरकी भए पीडकलाई १८ देखि २० वर्ष कैद हुने उल्लेख छ ।

त्यसैगरी पीडित १४–१६ वर्षकी भए पीडकलाई १२ देखि १४ वर्ष कैद, पीडित १६–१८ वर्ष उमेरकी भए पीडकलाई १० देखि १२ वर्ष कैद र १८ वर्ष माथिकी महिलालाई बलात्कार भएको घटनामा बलात्कार गर्ने व्यक्तिलाई सातदेखि १० वर्षसम्म कैद हुने दफा २१९ को उपदफा ३ मा सजायको व्याख्या गरिएको छ ।

अन्य

भिडियो