ललितपुरको बालकुमारी घटनाका मृतक परिवार र सरकार पक्ष बिच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा ०८० पुस १६ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मृतकका आफन्त र मृतकका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरू बिच भएको चार बुँदे सहमति भएको हो ।
पीडित परिवारसँग भएको सहमति पत्रमा सरकारले मृतकका परिवारका एक/एक जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउने उल्लेख छ । त्यस्तै सहमतिमा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने उल्लेख छ । सहमति पत्रमा मृतकद्वय वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि पहल गर्ने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने उल्लेख गरिएको छ ।
दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै पुस १३ गते असन्तुष्ट युवाहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाह ठकुरी र प्रहरीले प्रहार गरेको लाठी लागेर दैलेखको महाबु गाउँपालिका-६ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।