INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदीको उपचारका क्रममा मृत्यु, पाँच दिनपछि शवको पोष्टमार्टम

लेनदेन तथा ठगी मुद्दामा  मोरङ कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको पाँच दिनपछि पुस १३ गते शवको पोष्टमार्टम गरिएको छ ।

कोशी अस्पतालमा ०८० पुस ९ गते उपचारका क्रममा मृत्यु भएका सहनीको परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै शव बुझ्न अस्वीकार गरेपछि पुस ९ गतेदेखि शवलाई कोशी अस्पतालको शवगृहमा राखिएको थियो ।

जिल्ला कारागार कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र पीडित परिवारबिच तत्काल शवको पोष्टमार्टम गर्ने र घटना अनुसन्धान गरी दोषी पाइए कारबाही गर्ने मौखिक सहमतिपछि पुस १३ गते शवको पोष्टमार्टम गरिएको कोशी अस्पताल, छिमेकी प्रहरीका यादव दाहालले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले कैद भुक्तान सकेर ०८० पुस ९ गते कैद भुक्तान सकिएको र सोही दिन कैदमुक्त हुने अवस्थामा चण्डेश्वरको मृत्यु भएको बताउनु भयो ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि ०८० पुस ७ गते बिहान साढे ४ बजे कारागार प्रशासनले चण्ढेश्वरलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गराएको थियो ।

उपचारका क्रममा क्रममा सहनीको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

तर, चण्डेश्वरको परिवारले भने कारागार प्रशासनले बिरामी भएको खबर ढिलो गरी दिएको, मृत्यु भएपछिमात्र खबर दिएकाले मृत्यु शङ्कास्पद भएको आरोपमा शव बुझ्न अस्वीकार गरेको थियो ।

इन्सेककर्मीसँगको फोन सम्पर्कमा यादवले भन्नुभयो- पीडित परिवार र सरोकारवालाबिच तत्काल शवको पोष्टमार्टम गर्ने र घटना अनुसन्धानका क्रममा दोषी पाइए कारबाही अघि बढाउने मौखिक सहमतिपछि पुस १३ गते शवको पोष्टमार्टम गरी पीडित परिवारले शव बुझेको छ ।

पीडित परिवारले शव बुझी विराटनगर महानगरपालिका-८ स्थित सिङ्घीया घाटमा शवको सद्गतको तयारी गरेको छ ।

लेनदेन मुद्दामा चण्डेश्वर सहनीलाई मोरङ अदालतले ०७८ मङ्सिर  २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो ।

अदालतको फैसलापछि फरार भएका सहनी ०७९ माघ १७ गते कारागार चलान भएका थिए ।

क्षमता भन्दा बढी कैदी रहेको मोरङ कारागारमा पुसको चिसोमा कैदीहरू भुइँमै सुन्त व्याध्य भएका कारण विरामी हुने गरेका छन् ।

कारागारका जेलर कृष्णहरि न्यौपानेले चण्डेश्वर सहनीको उपचारका क्रममा मृत्यु भएको बताउनु भएको छ ।

अन्य

भिडियो