मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भएकी तर जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको हत्या घटनाका आरोपित उनका पति मोतीबाबु साहलाई ०८० पुस ९ गते जनकपुरधामको सीताचोक स्थित सगुन होटेलबाट जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गरेकाे छ ।
आरोपित मोतीबाबुलाई आवश्यक प्रक्रिया पुर्याएर कारागार चलान गर्ने जिल्ला प्रहरी कार्यालयका एसपी मित्रबन्धु शर्माले जानकारी दिनु भयाे । उच्च अदालत धनुषाको आदेशमा रिहा भएका आरोपितलाई मङ्सिर २० गते सर्वोच्च अदालतले पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।
यसअघि असोज १८ गते उच्च अदालत जनकपुरले आरोपितसहित उनका बुबा मदनमोहनलाई समेत साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो । जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
आरती गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक स्थित आफ्नै घरमा झुण्डेको अवस्थामा मृत भेटिएकी थिइन् । दाइजोको कारण आरतीकाे हत्या पति र ससुराले गरेको पीडित परिवारको आरोप रहेको छ।