इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभावले जिल्लामा खाद्यान्न ढुवानी कार्य सुरू भएको छ । गत मङ्सिर २५ गते इन्सेक अनलाइनमा समयमा ढुवानी हुन नसक्दा डेढ महिनादेखि खाद्यान्नको अभाव भन्ने शिर्षकमा समचार प्रकाशित भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले पुस ९ गतेबाट खाद्यान्न ढुवानी प्रक्रियालाई सुरू गरेको हो ।
राष्ट्रिय सडक सञ्जालले नछोएको एक मात्रै हुम्लामा खाद्यान्न अभाव भएको भन्दै इन्सेक अनलाइनमा समाचार प्रकाशित भएपछि खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख कृष्ण प्रसाद अधिकारीले तत्काल खाद्यान्न ढुवानीका लागि प्रमुख जिल्ला अधिकारी बिनोद पोख्रेललाई अनुरोध गरेपछि उक्त खाद्यान्न ढुवानी कार्य सुरू भएको प्रमुख अधिकारीको भनाइ छ ।
गत भदौपछि ढुवानी हुन रोकिएको उक्त खाद्यान्न तीन महिनापछि ढुवानी प्रक्रिया सुरु भएको हो । जसमा पैदल मार्गबाट नेपालगन्जदेखि चार हजार र सुर्खेतदेखि ६ हजार गरी जम्मा १० हजार क्विन्टल खाद्यान्न निर्धारण भएको र सो खाद्यान्न सर्केगाडको स्याल्तडीमा पुग्नु पर्ने हो । तर सुर्खेतबाट मात्रै हालसम्म एक हजार क्विन्टल जिरा स्टिम चामल स्यालतडीमा पुगेको छ । सो चामल मध्ये पुस ९ गते एक सय क्विन्टल खाद्यान्न सदरमुकाम सिमकोट आई पुगेको प्रमुख अधिकारीले बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयको गोदाममा खाद्यान्न अभाव भएपछि डेढ महिनादेखि सर्वसाधारण नागरिक खाद्यान्न पाउनबाट बञ्चित भएका छन् । चालु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न ढुवानी हुन नसक्दा जिल्लाबासीलाई खाद्यान्नको समस्या भएको हो । सिमकोट गाउँपालिका–८ की स्थानीय जानकी बुढाले गत असोजदेखि लिमिटेडको शाखाबाट वितरण हुने खाद्यान्न वितरण नगरिदा आफूहरू खाद्यान्न पाउनबाट बञ्चित भएको बताउनुभयो ।
उहाँका अनुसार सिमकोट गाउँपालिका १ देखि ८ वडासम्मका स्थानीय नागरिकले प्रत्येक महिनाको एक पटक प्रतिव्यक्ति सात किलोका दरले खाद्यान्न बिक्री वितरण हुने गरेको थियो । तर यो पटक गत असोजदेखि खाद्यान्न बिक्री वितरण नगरिदा खाद्यान्न पाउनबाट बञ्चित हुनु परेको उहाँले गुनासो गर्नुभयो ।