INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतभित्र थुनुवाको मृत्युको घटनाको विरोधमा प्रदर्शन, दुई जना घाइते

हंशपुर नगरपालिका–५ सुगानिकास का दीपनारायण मण्डलको सोही नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र ०८० पुस ५ गते राती मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयहरू आन्दोलनमा उत्रीएका छन् ।

घटनाको विरोध गर्दै मृतकका परिवारजन र स्थानीयहरू इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गर्नुका साथै प्रहरीको मोटरसाइकलमा समेत आगजनी गरेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्दा हंशपुर नगरपालिका–५ सुगानिकास का ३६ वर्षीय शिव शंकर मण्डल र ३२ वर्षीय मोतलुव अन्सारी घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी मित्रबन्धु शर्माका अनुसार “०८० पुस ५ गते गाउँमा दुई पक्षबीच बिवाद भइ झडप भएको हुँदा सोको छलफलका लागि दुवै पक्ष इलाका प्रहरी कार्यालयमा आएका थिए । छलफलको क्रममा दुवै पक्षबीच मिलापत्र भइ घर फर्किएका थिए र सोही दिन राती घरमा दीपनारायण मण्डलको मृत्यु भएको थियो” । तर, मृतकका परिवारजनले दीपनारायण मण्डलको मृत्यु हिरासतमा भएको बताउछन् ।

उक्त घटनाको अनुगमन तथा सत्य तथ्य अध्ययन गर्न इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान र जिल्ला प्रतिनिधि सन्तोषकुमार यादव घटना स्थल जानु भएको छ ।

अन्य

भिडियो