INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या कसुरमा जन्मकैद सजायको फैसला

सुन्दरहरैंचा नगरपालिका-७ की १८ महिने बालिकालाई बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैंचा नगरपालिका-७ का २५ वर्षीय अजय चौधरी र उनका २८ वर्षीय दाजु मिथुन चौधरीलाई जन्मकैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको ०८० पुस २ गतेको इजलासले कसुर गरेको ठहर गर्दै जन्मकैद सजायको फैसला आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताउनु भयो ।

१८ महिने बालिकालाई कसुरदारहरुले ०७८ फागुन २७ गते अपहरण पश्चात सामूहिक बलात्कारपछि हत्या गरेका थिए ।

बालिकाको हत्यापछि पीडित पक्षले आरोपितविरुद्ध फागुन २८ गते इलाका प्रहरी कार्यालय, बेलवारीमा उजुरी दियो । आरोपितद्वयलाई प्रहरीले फागुन २८ गते सुन्दरहरैँचा नगरपालिका-७ बाट गिरफ्तार गरेको थियो ।

बालिका ०७८ फागुन २७ गते साँझ आँगनमा खेलिरहेकी रहेको अवस्थामा अपहरण गरी घरदेखि डेढसय मिटर टाढा गछिया खोलाको झाडीमा लगि बलात्कार पश्चात वियरको वोतल र ढुङ्गाले हिर्काएर अचेत अवस्थामा छाडेका थिए ।

बालिकाको उपचारको क्रममा फागुन २७ गते विराटनगरस्थित नोवेल मेडिकल अस्पतालमा मृत्यु भएको थियो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०७८ चैत २१ अपहरण, बलात्कार र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको चैत २२ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठायो ।

शवको पोष्टमार्टम फागुन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।

सोही दिन पीडित पक्षले शव बुझी सुन्दरहरैंचा नगरपालिका-७ स्थित घाटमा अन्तिम संस्कार गरेको थियो ।

घटनाका इन्सेकले स्थलगत अनुगमन गरी न्यायमा पहुँचका लागि पीडित परिवारलाई आर्थिक सहयोगसमेत गरेको थियो ।

अन्य

भिडियो