INSEC Online

📅 २०८३ जेष्ठ २१

घरमा छोराहरूले किरिया गर्न नदिएपछि सार्वजनिक स्थानमै पतिको काज किरिया गर्न बाध्य

देशभर लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान चलिरहेका बेला मदाने गाउँपालिका–६ की ८४ वर्षीया पबी खत्रीले भने पतिको घरमै किरिया गर्न पाउनु भएन । घरमा छोराहरूले किरिया गर्न नदिएपछि सार्वजनिक स्थानमै पतिको काज किरिया गर्नु भएको छ ।

खत्री स्थानीय सहकारीको भवनमा किरिया बस्नु भयो । काजकिरिया आफैमा अप्ठ्यारो । उमेर अवस्थाले वृद्धा रहनु भएको उहाँले  टीनको छाना मूनि कष्ट खेप्दै पति तुलबहादुर खत्रीको किरिया गर्नु भयो ।

पबि तुलबहादुरकी दोस्रो पत्नी हुन् । तुलबहादुरको मङ्सिर १० गते मृत्यु भएको थियो । तुलबहादुर र पबीको  ०२७ मा विवाह भएको थियो भने उहाँबाट एक छोरी जन्मिनु भएको छ ।

पतिको मृत्यु पछि पहिलो पत्नीतीरका छोराहरूले पबीलाई घरमा काजकिरिया गर्न दिएनन् । बुबाको मृत्यु भएकै दिन उहाकी छोरीले घरमा आमालाई किरिया बसाल्न खोजेपनि पहिलो पत्नीबाटका छोराहरूले नमानेपछि आफुहरू सार्वजनिक ठाउँ खोज्न बाध्य भएको छोरी नन्दा थापाले गुनासो गर्नुभयो ।

परिवारले आफ्नै घर÷जग्गामा काजकिरिया गर्न नदिएपनि पबीको नागरिकतामा पति तुलबहादुर खत्री क्षेत्री कायम छ । ०४५ वैशाख २२ गते जारी भएको पबीको नागरिकता नम्बर समेत १०९७९ रहेको छ ।

त्यसैगरी नन्दाको नागरिकतामा पनि बुवा तुलबहादुर नै उल्लेख छ । परिवारले काजकिरिया गर्न नदिएपछि आफूले सम्पत्तिको हकको लागि अदालत जाने योजना बनाएको पबीले बताउनु भयो ।

‘बुबाको किरिया गर्न नदिनेले आमामा किरिया पनि गर्दैनन् । आमाले अब सम्पति माग्दै अदालत जानुहुन्छ,’ नन्दाले भन्नुभयो ।

छोरा लोकबहादुर खत्रीले भने व्यवहारिकरुपमा आफूले पवीलाई आमा मान्न नसकिने प्रतिक्रिया दिनु भयो ।

अन्य

भिडियो