INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रविधिको अभावमा अपाङ्गता भएका विद्यार्थीको पठनपाठन प्रभावित

प्रविधिको अभावमा अपाङ्गता भएका विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । रेसुङ्गा नगरपालिका-९ मा रहेको उपल्लो तम्घास माविमा ३० जना अपाङ्गता भएका विद्यार्थीहरूले अध्ययन गर्छन् । विद्यालयले ०५९ देखि बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूलाई आवाससहित अध्ययनको व्यवस्था गर्दै आएको छ । तर, प्रविधि नहुँदा उनीहरूको पठनपाठन प्रभावकारी हुन सकिरहेको छैन् ।

उक्त विद्यालयमा जिल्लाका ११ ओटा स्थानीय तहबाट विद्यार्थीहरू आउने गरेका छन् । उनीहरू एकै ठाउँ बस्ने र एकै किसिमको क्रियाकलापमा केन्द्रित हुँदैनन् । उनीहरूको पालनपोषण नै परिवारको लागि चुनौतिपूर्ण बनिरहेका बेला उपल्लो तम्घास माविले आवाससहित अध्ययनको काम अगाडि बढाउन निकै कष्ट झेलिरहेको छ । सरकारको तर्फबाट विशेष किसिमको सहयोग नभएका कारण सञ्चालनमा समस्या भएको छ ।

विद्यार्थीले नयाँनयाँ प्रविधीमार्फत शिक्षण सिकाई क्रियाकलापका रचनात्मक कामहरू गरिरहेका छन् । उपल्लो तम्घासका बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूले भने आधुनिक प्रविधिको व्यवस्था नहुँदा पुरानै शैलीमा पढ्न र सिक्न बाध्य भएको स्रोत शिक्षक ज्ञानेन्द्रराज मरासिनीले बताउनु भयो ।

विद्यालयमा २० जना बहिरा र १० जना बौद्धिक अपाङ्गता  भएका विद्यार्थी छन् । उनीहरूले पूर्णरुपमा निःशुल्क आवासीय सुविधासहित विद्यालयमा अध्ययन गर्न पाउने हातको इसाराले मात्रै अध्ययन गराउँदा प्रभावकारी शिक्षा प्रदान गर्न नसकिएको मरासिनीले बताउनु भयो ।

बच्चाले घरमा पाँच वर्षसम्म एउटा भाषा सिक्ने र विद्यालयमा आउँदा साङ्केतिक सिकाउन सिक्नुपर्ने भएकाले ग्राहो हुने स्रोत शिक्षक मरासिनीले बताउनु भयो । ‘मैले आफुले जानेको हातको इसाराबाटै पढाईरहेको छु । अहिले बहिरा र बौद्धिक अपाङ्गता भएकाहरूले सिक्ने थुप्रै प्रविधी आएपनि विद्यालयमा छैनन् । तालिम र प्रविधि अत्यावश्यक रहेको छ ।’- मरासिनीले भन्नुभयो

प्रति विद्यार्थी विद्यालयले सरकारबाट ४ हजार रूपियाँ पाउँछन् । जिल्लामा दुवै प्रकारका क्षमता भएका विद्यार्थीलाई पढाउने एक मात्र विद्यालय उपल्लो तम्घास हो । अहिलेसम्म उपल्लो तम्घास माविमा १ सय भन्दा बढी विद्यार्थीहरू कक्षा ५ सम्म अध्ययन गरेर परिवारको क्षमता अनुसार बाग्लुङ, पोखरा, भैरहवा र काठमाडौँ लगायतका स्थानमा गएका छन् । उपल्लो तम्घास माध्यमिक विद्यालयले कम्तीमा ६ वर्ष पुगेको र १६ वर्ष पार नभएका विद्यार्थीलाई भर्ना गर्ने गरेको छ । बढीमा ५० अपाङ्गता भएका विद्यार्थीहरूको क्षमता भएपनि कोटा अनुसार बालबालिका भर्ना नहुने विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रीपालीले विद्यार्थीलाई आर्थिक अभावको कारण प्रविधिसँग नजिक बनाएर अध्ययन गराउन नसकिएको गुनासो गर्नुभयो । उहाँले दाताको सहयोग र सानो सरकारको अनुदानले मात्रै विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरुले अध्ययन गरिरहेको भएपनि व्यवस्थापन निकै कष्टपूर्ण रहेको बताउनु भयो ।

अपाङ्गता भएका विद्यार्थी लेखाजोखा समिति गुल्मीका संयोजक राममणी पन्थीले सङ्घीयतापछि स्थानीय सरकार अपाङ्ताग क्षेत्रमा उदासिन रहेको बताउनु भयो । सरकारी संयन्त्रसँग अपाङ्गता भएकाहरूको यर्थाथ तथ्याङ्क समेत नभएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो