INSEC Online

📅 २०८३ जेष्ठ २१

थरुहट आन्दोलनका घाइतेको नौ वर्षपछि उपचार हुँदै

‘आन्दोलनमा सँगै रहेका दुई साथीको गोली लागेर मृत्यु भयो, म भाग्यले बाँचे’-रत्ननगर७ का २९ वर्षीय सञ्जित महतोले भने । २०६५ सालमा तराई भेगमा भएको आन्दोलन अन्तर्गत चितवनमा पनि थरुहट आन्दोलन भएको थियो ।

Photo20170809Chitwan

उक्त आन्दोलनमा विपीन खड्का र कमल चौधरीको प्रहरीको गोली लागि मत्यु भयो । एक मधेस एक प्रदेशको विरोध गर्दै थरुहटको माग गर्दै भएको आन्दोलनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका सञ्जित महतो नौ वर्षछि बल्ल उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

त्यस समयमा भएको थरुहट आन्दोलनमा २० वर्षको उमेरमा नै उनी अधिकारका लागि भन्दै आन्दोलनको अग्रपङ्क्तिमा थिए । फागुन २२ गते भएको घटनामा सुरक्षाकर्मीको गोली दाहिने तिघ्रामा लागेपछि उनी ढले ।

गोली लाग्ने बित्तिकै भरतपुर अस्पताल, त्यसपछि मेडिकल कलेज र थप उपचारका लागि उनी बी एण्ड बी अस्पताल ललितपुर गए । तिघ्रामा गोली लागेर गोडा काम नलाग्ने बताएपछि चिकित्सकले उनलाई गोडा काट्न भने, तर उनले मानेनन् ।

काठमाडौंमा उपचार गराउँदै गर्दा रकम अभावले उनी घरमै बसे । ‘सरकारले हालसम्म ३२ हजार रुपियाँ दिएको छ ।’-अलाइभ हस्पिटलमा उपचाररत रहेका महतोले भने-‘यहाँ आएपछि जीवन राम्रो हुन्छ कि भनी आश लिएको छु ।’ १ लाख ५० हजार जति खर्च भएपछि उपचार सम्भव नभएकाले घर फर्किएको उनले बताए । तर, नौ वर्षपछि उनी पुनः उपचारमा जुटेका छन् ।

‘तिघ्राको हड्डी नजोडिएको, घाउ उस्तै रहेको, गोडा छोटो हुनाका साथै खुम्चिएको अवस्थामा छ ।’- महतोको उपचारमा संलग्न डाक्टर प्रमोद लामिछानेले भने-‘तत्काल निको नभएपनि भविष्यमा बैशाखीको साहारा बिना पनि हिँड्डुल गर्न सक्ने गरी हामी उपचारमा जुटिरहेका छौँ ।’ हाल घाउबाट पिप आइरहेको भन्दै डा. लामिछानेले घाउ निको हुनाका साथै गोडामा देखिएको समस्या पनि ठीक हुने बताए ।

घाइतको उपचारका लागि अस्पतालले कुनै पनि शुल्क नलिएको अस्पतालकी प्रमुख डा. वि.एम खरेलले बताइन् । ‘अधिकार प्राप्तिका लागि लड्दै गर्दा उनलाई गोडामा चोट पुगेको रहेछ । पैसा अभावमा उपचार नपाएर बसेका उनलाई हामीले औषधि समेत निःशुल्क गराइ उपचार गराइरहेका छौं ।’-डा. खरेलले भनिन् ।

अन्य

भिडियो