INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह बदरको माग गर्दै प्रहरीमा उजुरी

बालविवाह मुक्त घोषित गरिएको सान्नी त्रिवेणी गाउँपालिका-४ रकु सेरीज्यूला गाउँमा केटी पक्षका अभिभावकले बालविवाह बदरको माग गर्दै साउन २३ गते प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

त्रिवेणी गाउँपालिका-४ की १४ वर्षीया बालिका र सोही ठाउँका १५ वर्षीय बालकबिच असार २८ गते विवाह भएको भन्दै बालिकाका बावुले प्रहरी चौकी मुङ्ग्रामा बालविवाह बदरको मागसहित उजुरी दिएका हुन् । बालविवाहमा संलग्न दुवै जना स्थानीय कक्षा १० मा अध्यनरत छन् ।

जिल्लाको रकु, मान्म, पाखा, दाहा, छाप्रे, जुविथा, कालिका, सुकाटिया, राचुली गरी साविकका नौ गाविसलाई औपचारिक रूपमा सम्बन्धित गाविसका कार्यालयले अघिल्लो वर्षबालविवाह मुक्त घोषणा गरिसकेका थिए । मुक्त क्षेत्र घोषणा भए पनि बालविवाह भने रोकिएको छैन ।

बाल विवाह मुक्त घोषित गाविसमा पहिले जस्तो अभिभावकले नै बाजा बजाएर बालविवाह गरिदिने क्रम घटे पनि प्रेममा परेको भन्दै अभिभावकको सहमतिमा सँगै बस्नेको सङ्ख्या बढदो अवस्थामा छ । फेसबुक र मोबाइलले बाल विवाहलाई बढावा दिएको ठहर गर्दै जिल्ला शिक्षा कार्यालयले मावि तहका विद्यालयमा बालबालिकालाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाएको जिल्ला शिक्षा अधिकारी विष्णु तिवारी बताउँछन् ।

बालविवाह रोक्नका लागि प्रहरीले प्रयास गरिरहेको र केही ठाउँमा सफल भएको तर रकुका घटनाका बारेमा समयमा जानकारी नआएको कालिकोटका निमित्त प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले बताए । उनले सामाजिक र कानुनी अपराध भए पनि अभिभावक र समाजको मिलेमतोमा हुने कारण बालविवाह रोक्न कठिनाइ भएको बताए ।

बाल अधिकार महासन्धिका अनुसार १८ वर्षमुनिकालाई र बाल बालिका ऐन २०४८ ले नेपालमा १६ वर्षमुनिकालाई बालबालिका मानेको छ । कानुनले २० वर्षनपुगी विवाह गर्न नपाइने व्यवस्था गरेको छ ।

अन्य

भिडियो