INSEC Online

📅 २०८३ जेष्ठ २१

सोती घटनाको पेशी सुनुवाइ बहस जारी , पीडितहरुद्वारा अदालतको मूल गेटमा धर्ना

चौरजहारी नगरपालिका– ८ सोती गाउँमा ०७७ साल जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाको मुद्दामा ०८० मङ्सिर १७ गतेदेखि रुकुम जिल्ला अदालतमा पेशी सुनुवाइ बहस सुरु भएको छ ।

पेशी सुनुवाइ तोकिएको अघिल्लो दिन मङ्सिर १६ गते देखि नै पीडित पविारहरुले रुकुम जिल्ला अदालतको मूल गेटमा न्यायको माग गर्दै धर्ना दिइरहेका छन् ।

मुद्दामा निरन्तर सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका निमित्त श्रेष्तेदार गोबिन्द कोईरालाले जानकारी दिनुभयो  ।  पेशी सुनुवाइको पहिलो दिन जाहेरीवालाको तर्फबाट दुई जना सरकारी वकिल र सात जना कानुन व्यवसायी गरेर नौ जनाले बहस गर्नुभएको छ । कोईरालाले सोती घटनाको नामले चर्चित उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको उहाँले जानकारी दिनुभयो ।

बहस जारी रहेको छ । जाहेरीवालाहरुको तर्फबाट कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादीहरुका तर्फबाट बहस हुने र त्यसपछि मात्र अदालतले फैसला सुनाउने छ । जाहेरीवालाको तर्फबाट चार जना सरकारी वकिल सहित १६ जना कानुन व्यवसायीले बहस गर्नुहुनेछ भने प्रतिवादीको तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गर्नुहुने छ ।

रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनारमा तीन वर्षअघि ६ जना युवाहरुले ज्यान गुमाएका थिए । जाजरकोटका नवराज र रुकुम पश्चिमको सोतीगाउँकी ठकुरी परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो । प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक र सञ्जु बिक, भेरी नगरपालिका–११ लोकेन्द्र सुनार, गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ का टीकाराम नेपालीको ज्यान गएको थियो । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

उक्त घटनामा ३४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । तर अहिले २३ जना मात्रै रुकुम कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् । रुकुम अदालतका अनुसार मुद्दा दर्ता भएका मध्य चार जना रुकुम अदालत, दुई जना उच्च अदालत र पाँच जना सर्वोच्च अदालतको आदेशमा छुटिसकेका छन् ।

Photo20231204Rukum Paschim (3)

Photo20231204Rukum Paschim (4)

Photo20231204Rukum Paschim (8)

 

Photo20231204Rukum Paschim (6)

 

 

 

 

Photo20231204Rukum Paschim (5)

 

अन्य

भिडियो