INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारी अभावले इलाका प्रशासन कार्यालयको सेवा प्रभावित, सेवाग्राहीलाई सास्ती

इलाका प्रशासन कार्यालय बुर्तिवाङमा कर्मचारी अभावले सेवा प्रभावित भएपछि सेवाग्राहीलाई सास्ती भएकाे छ ।

बडिगाड गाउँपालिका–७ का मनबहादुर विक नागरिकता बनाउँन इलाका प्रशासन कार्यालय बुर्तिवाङ धाउन थालेको पाँच दिन भयो । तर, अहिलेसम्म उहाँको पालो आएको छैन ।

पालो आउँने आशमा हरेक दिन बुर्तिवाङ आउँजाउ गर्दा विकको आठ हजार भन्दा बढी खर्च भइसकेको छ । एकजना व्यक्तिको नागरिकता बनाउँन हप्तौ पालो कुर्नु पर्ने र दश हजार भन्दा बढी खर्च हुने बाध्यता मनबहादुरको मात्र होइन् । बागलुङको पश्चिम इलाका प्रशासन कार्यालयमा सेवा लिन आउने सबैको हो ।

इलाका प्रशासन कार्यालयमा दिनभरी लाइन बस्ने साँझ परेपछि पालो नपाएर फर्कनेको संख्या सयौँ छ । आर्थिक अवस्था कमजोर भएकालाई नागरिकता बनाउँनको लागि ऋणको भारी बोक्नुपर्ने बाध्यता रहेको यहाँका स्थानीयको भनाई छ ।

काम किन ढिला भएको छ भनेर प्रश्न गर्दा कर्मचारीले बेवास्ता गर्ने गरेको सेवाग्राहीको गुनासो छ ।

ढोरपाटन नगरपालिका–३ पुर्कोटका बुद्धबहादुर गुरुङ पत्नीको नागरिकता बनाउन आएको तीन दिन बित्यो । भारतमा रोजगारी गर्दै आएका गुरुङ नागरिकता बनाउँनको लागि हप्ता दिनको बिदा लिएर आउनु भएको थियो । बिदा सकिन लाग्दा पनि नागरिकता बनाउने पालो नआउँदा गुरुङ चिन्तित हुनुहुन्छ । वडाबाट नागरिकता सिफारिस लिदा एक दिनमै नागरिकता बन्ने बताएको भएपनि हप्तौ दिनसम्म पालो नपाइदा आर्थिक समस्या बढ्न थालेको उहाँको भनाई छ ।

दरवन्दी अनुसारका जनशक्ति नहुँदा सेवा प्रभावित भएको इलाका प्रशासन कार्यालयको भनाई छ ।

१० जनाको दरवन्दी रहेको कार्यालयमा तीन जनाले मात्र काम गर्नुपर्दा कार्यालयको सेवा प्रभावित बनेको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले बताउनु भयो ।

विभिन्न कार्यालयबाट सरुवा भएर आएका कर्मचारीहरु आएकै दिन सरुवा भएर जाँदा सेवा प्रवाहमा निकै कठिन भएको कुँवरको भनाई छ । यहाँबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, नाता प्रमाणित लगायतका सेवा प्रवाह हुँदै आएको उहाँ बताउनुहुन्छ । कर्मचारी नहुँदा अहिले राहदानीको काम ठप्प भएको कुँवरले बताउनुभयो ।

‘हरेक दिन सयौँ सेवाग्राही आएर लाइन बस्नु हुन्छ, सबैलाई सेवा दिएर पठाउने कोशिस गर्छौँ तर थोरै कर्मचारीले सबैलाई सेवा दिन निकै गाह्रो हुँदो रैछ, दिनमा एक सयभन्दा बढीलाई सेवा दिन पनि सकिने अवस्था छैन, अहिले नागरिकताको प्रतिलिपि लिने, नागरिकता बनाउन आउनको संख्या निकै ठूलो छ’ प्रमुख कुँवरले भन्नुभयो – ‘सरुवा भएर आएका कर्मचारी एक दिन पनि बस्दैनन्, त्यसले गर्दा सेवाग्राहीले निकै सास्ती खेप्नु परेको छ ।’

sebaghari

अन्य

भिडियो