राजधानीलगायत देशका विभिन्न ठाँउमा देखिएको ‘स्वाइन फ्लू’ नियन्त्रणको लागि प्रभावकारी कार्यको थालनीको अनुरोध गर्दै मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले साउन १९ गते पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक उमेश शर्मासमक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।
‘धेरै व्यस्त रहने सार्वजनिक स्थलहरूमा यस सङ्क्रामक रोगको निदान, नियन्त्रण र प्राथामिक उपचारका लागि आवश्यक पर्ने दक्ष जनशक्ति परिचालन, त्यसका लागि आवश्यक पर्ने प्राथमिक कार्य याथाशीघ्र सुरू गर्नेतर्फप्रभावकारी कार्यको थालनी गरियोस’-ज्ञापन पत्रमा उल्लेख छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार संरक्षण मञ्च कास्की, मानव अधिकार एलाइन्स, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की, चाइल्ड नेपाल, सिविन, कोक्याप, मानव अधिकार निगरानी समूह कास्की, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीलगायतका सङ्घ संस्थाका प्रतिनिधिले हस्ताक्षर गरी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानकर्षण पत्र बुझ्दै निमित्त निर्देशक शर्माले सरुवा रोग नियन्त्रण महाशाखाले अवस्था हेरी जनचेतना फैलाउने, स्वास्थ्य सेवाको प्रवन्ध बलियो बनाउने भनी गरेको परिपत्र अनुसार पश्चिमाञ्चलका १६ ओटै जिल्लाका जनस्वास्थ्य कार्यालयहरूसँग सहकार्य गरी रोग नियन्त्रणका लागि आवश्यक पहल गरेको बताए ।