INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार देखिने, सुनिने र अनुभूत गर्न सकिने हुनुपर्छः आयुक्त पौडेल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानव अधिकार जनताले देखिने, सुनिने र अनुभूत गर्न सकिने हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग र शान्तिका लागि नागरिक समाजको सञ्जालले संयुक्त रूपमा साउन १९ गते पोखरामा आयोजना गरेको मानव अधिकारमूखी विकास पद्धति र नागरिक समाजको अपेक्षा विषयक अन्तरक्रियामा बोल्दै सदस्य पौड्यालले सो कुरा बताएका हुन् ।

उनले स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन हुनुपूर्व स्थानीय नागरिकसमक्ष गरेको बाचा र स्थानीयलाई दिएको आश्वासन लाई बेवास्ता नगरी जनताको अपेक्षा अनुसारको काम गर्न आवश्यक रहेको समेत बताए ।

जनप्रतिनिधिले नेपालको संविधानले दिएको अधिकारलाई कार्यन्वयन गर्दै स्थानीय तहको आवश्यकता हेरेर कानुन निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कास्कीकी निमित्त प्रमुख नितु गर्तौलाले हरेक विकास निर्माणका काम मानव अधिकारमैत्री हुनुपर्ने औँल्याइन् ।

कार्यक्रममा शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष ढाकाराम पौडेलले नागरिकले मर्यादित रूपमा बाँच्न पाउने अधिकारलाई पुरा गर्ने दायित्व जनप्रतिनिधिको रहेको बताए ।

जिल्ला बार एशोसिएशन कास्कीका अध्यक्ष सोमबहादुर श्रेष्ठले स्थानीय तहलाई दिएको २२ ओटा अधिकार कार्यन्वयन  गर्नको लागि जति सक्दो चाँडो कानुन बनाउन आवश्यक रहेको बताए ।

माछापुच्छ्रे गाँउपालिकाकी उपाध्यक्ष कृष्णकुमारी दवाडीले केन्द्रले पठाएको कार्यादेश कार्यन्वयन गर्न चुनौति रहेको बताउँदै अहिलेको अवस्थामा कर्मचारीलाई सङ्घीयता अनुरूपको मानव अधिकारमैत्री प्रशिक्षण दिन आवश्यक रहेको बताइन् ।

अन्य

भिडियो