INSEC Online

📅 २०८३ जेष्ठ २१

भूमि आयोगद्वारा २६ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

राष्ट्रिय भूमि आयोगले पाँचखपन नगरपालिकाका २६ सुकुम्बासी परिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरेको छ ।

राष्ट्रिय भूमि आयोग, सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्बासी परिवार लाई जग्गा उपलब्ध गराएको हो ।

राष्ट्रिय भूमि आयोग सङ्खुवासभा, अध्यक्ष शङ्करमान कँडेलको अध्यक्षता तथा सङ्घीय सांसद दीपक खड्काको उपस्थितिमा जग्गा धनी लालपुर्जा वितरण गरिएको हो ।

भूमिहीन तथा सुकुम्बासी छनौटको विभिन्न चरणहरू पार गरेर उनीहरूलाई जग्गा उपलब्ध गराइएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले बताउनु भयो ।

नगर कार्यपालिकाको बैठकले २८ जनाको नाम सिफारिस गरेर पठाएकोमा दुई जनाको विवरणमाथि थप अध्ययन गर्नुपर्ने भएकोले तत्काल २६ जनालाई मात्र लालपुर्जा वितरण गरिएको नगरप्रमुख राईले बताउनु भयो । बाँकी दुई ओटा परिवारले पनि जग्गा पाउने वा नपाउने बारेमा छिट्टै टुङ्गो लगाइने नगर प्रमुख राईले बताउनु भयो ।

सुकुम्बासी परिवारलाई पाँचखपन नगरपालिकाको केन्द्रमा रहेको सरकारी जग्गा उपलब्ध गराइएको हो । पाँचखपन नगरपालिकाको वाना बजारदेखि सभापोखरी गाउँपालिका जाने मुख्य सडक किनारको जग्गा उनीहरूलाई उपलब्ध गराइएको छ । उनीहरूले पाएको जग्गा सम्याएर चाँडै घर निर्माण गर्ने प्रक्रिया सुरु गरिने गाउँपालिकाले जनाएको छ ।

घर निर्माण गर्नको लागि घडेरी सम्याउने र घर निर्माणको लागि समेत नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख राईको भनाइ छ ।

‘व्यापार व्यवसाय गरेर पनि जीविका चलाउन सकोस भनेर बजार क्षेत्रको मुख्य सडक किनारको जग्गा दिएका छौँ, उहाँहरूको घर निर्माण गरी स्वरोजगार बन्न पनि नगरपालिकाले सहयोग गर्छ’, मेयर राईले भन्नु भयो ।

भूमिहीन तथा सुकुम्बासीहरू यस अघि आफन्त तथा गाउँलेहरूको जमिनमा आश्रय लिएर बस्दै आएका थिए । अहिले भने उनीहरू करेसाबारीसहित एक घर अट्ने जमिन आवासका लागि पाएका छन् ।

भूमि आयोगबाट प्राप्त भएको जमिन कम्तीमा १० वर्षसम्म विक्रि गर्न नपाउने र त्यसपछि पनि भुमिहीन हुने गरी बेच्न नपाउने वयवस्था गरिएको राष्ट्रिय भूमि आयोग, सङ्खुवासभाका अध्यक्ष शङ्करमान कँडेलले बताउनु भयो ।

जिल्लाका अन्य नौ ओटा स्थानीय तहमा भूमिहीन तथा सुकुम्बासीहरूको लगत सङ्कलन भइरहेको राष्ट्रिय भूमि आयोगले जनाएको छ ।

नेपालको संविधानले धारा ३७ मा आवासको हकको व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ ।

अन्य

भिडियो