INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय टाढा भएकाले पढ्नबाट वञ्चित छन् लिदिका बालबालिकाहरू

जुगल गाउँपालिका-२, लिदिका बालबालिकाहरू विद्यालय टाढा भएका कारणले विद्यालय पढ्नबाट वञ्चित भएका छन् । लामा र तामाङजातीको बसोवास रहेको र अति दुर्गम तथा हिमालमुनिको बस्तीको रूपमा चिनिने लिदी गाउँका बालबालिकाहरू माध्यामिक तहको विद्यालय पुग्न नौ घण्टा पैदल हिँडेर पुग्नु पर्छ ।

लिदि गाउँमा श्री सातकन्या आधारभूत विद्यालय छ । गाउँको विद्यालयको पढाइ सकेर त्याहाँका बालबालिकाहरू नौ घण्टाको पैदल जोखिमयुक्त बाटो हिँडेर जुगल गाउँपालिका-५ स्थित श्री रत्नराज्य मावि, चनौटेमा जानु पर्ने बाध्यता छ ।

घरभन्दा विद्यालय धेरै टाढा भएपछि लिदि गाउँका बालबालिकाहरू पढाइ छाडेर खेतिपाती पेशामा संलग्न हुने गरेको र उमेर पुगेपछि विदेश जाने परम्परा रहेको जुगल गाउँपालिका-२, लिदि स्थित सातकन्या आधारभूत विद्यालयका स्थानीय शिक्षक सुनलाल दोङले बताउनु भयो ।

लिदि गाउँभरीमा विद्यालय जाने उमेरका १ सय ५५ जना बालबालिकाहरू छन् । त्यस मध्ये १ सय २७ जना बालबालिकाहरू गाउँको विद्यालयमा भर्ना भएका छन् । भर्ना भएकाहरू मध्ये पनि ८५ जना मात्र नियमित विद्यालय आउने गरेको शिक्षक दोङले बताउनु भयो । शिक्षक दोङको भनाइ अनुसार गाउँको आधारभूत विद्यालयमा नआउने बालबालिकाहरू चौँरी र भेँडी चराएर खर्कमा बस्छन् ।

घरभन्दा धेरै टाढा माध्यामिक विद्यालय भएको कारण आफूले बिचैमा पढाइ छाड्नु परेको लिदिका १७ वर्षीय आशापाल दोङले बताउनु भयो । लिदि गाउँ सानो भएकोले त्यहाँ माध्यामिक विद्यालय चलाउन कठिनाइ छ । त्यहाँका बालबालिकाहरू माध्यामिक कक्षा पढ्न निकै टाढा जानु पर्ने भएकोले केही केही कोठा लिएर रत्नराज्य मावि, चनौटेमा पढ्न जान्छन्, तर अधिकांशले विद्यालय टाढा भएकाले पढाइ बिचैमा छाड्ने गरेको जुगल गाउँपालिका-२ का वडा अध्यक्ष चन्द्रकाजी लामाले बताउनु भयो ।

अन्य

भिडियो