INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकामा आवश्यक भौतिक संरचनाको अभावले सेवाग्राही समस्यामा

सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा प्रदान गर्ने भने तापनि आमाछोदिङमो गाउँपालिकामा आवश्यक भौतिक संरचनाको अभावले सेवा प्रवाह हुन नसक्दा सेवाग्राही समस्यामा परेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न एक गाउँ एक अस्पताल खोल्ने भने पनि स्थानीय अस्पतालका लागि हालसम्म जग्गा प्राप्त हुन नसकेकोले सेवाग्राही समस्यामा परेका छन् ।

गोल्जुङ गाउँमा अस्पताल बनाउन जग्गा दिन स्थानीय सहमत भएपछि केही व्यक्तिहरूले गोल्जुङबेसीमा बनाउने भनेर विवाद गरेपछि रोकिएको हो । यसअघि सर्व पक्षीय सहमतिमा जग्गाको समस्या टुङ्गो लगाए पनि पुनः विवाद भएको हो । गोल्जुङबेसीमा डिपीआर गरेर स्थानीय अस्पताल निर्माणका लागि जग्गा मिले पनि पुनः विवाद भएकोले अस्पताल निर्माण प्रक्रिया अघि बढ्न नसकेको स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनु भयो । सार्वजनिक जग्गा रहेको ठाउँमा स्थानीय सरकारले अस्पताल बनाउन थाले राम्रो हुने उहाँको भनाइ छ ।

गाउँमा अस्पताल नहुँदा स्थानीयलाई नुवाकोट र काठमाडौँ पुगेर स्वास्थ्य उपचार सेवा लिनपर्ने बाध्यता परेको स्थानीय आङदावा तामाङले बताउनु भयो । आमाछोदिङमो गाउँपालिकामा स्थानीय अस्पताल निर्माण गर्न छलफल गरेर डिपीआर तयार गरी गोल्जुङ गाउँमा निर्माण गर्ने योजनामा भएपनि पुनः जग्गा विवाद भएपछि ढिलाइ भएको छ । विवाद समाधान गरेर अब चाँढै टेण्डर आब्हान गरिने स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनु भयो ।

सरकारले ०७७ मङ्सिर १५ गते देशभर ३ सय ९६ ओटा अस्पतालको शिलान्यास गरे पनि स्थानीय तहमा अस्पताल शिलान्यास गरेकोमा आमाछोदिङमो गाउँपालिकामा अस्पताल निर्माण थालनी नै हुन सकेको छैन । रसुवामा कालिका र नौकुण्ड गाउँपालिकामा शिलान्यास भएको अस्पताल निर्माणाधीन छ भने उत्तरगया र आमाछोदिङमो गाउँपालिकामा भने जग्गा अभावले निर्माण हुन सकेको छैन । जिल्ला अस्पताल रहेको गोसाइकुण्ड गाउँपालिकामा भने अस्पताल बनाउने कुनै योजना छैन ।

नेपाल सरकारले नागरिकलाई गुणस्तरीय सेवा घरदैलोबाट प्रदान गर्ने भने तापनि आवश्यक भौतिक संरचना अभावले सेवा प्रबाह हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ‘एक गाउँ एक अस्पताल’ खोल्ने भने पनि उत्तरगया गाउँपालिका र अस्पतालका लागि हालसम्म जग्गा प्राप्त हुन नसकेकोले सेवाग्राही समस्यामा परेका छन् । नौकुण्ड गाउँपालिकामा निर्माणाधीन अस्पताल सम्पन्न गर्न ढिलाइ भएको स्थानीय गोबिन्द तामाङले बताउनु भयो ।

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा प्रत्येक नागरिकलाई स्वस्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ । सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार किटान गरिएको छ । तर त्यसको व्यवहारमा कार्यन्वयन भने हुन सकेको छैन । ०७७ मङ्सिर १५ गते शिलान्यास भएका अस्पतालहरू समयमै निर्माण हुन नसक्दा स्वास्थ्य सेवा नलिई बिरामी फर्कनु पर्ने अवस्था छ ।

अन्य

भिडियो