आङ्गिक कलेजको स्थापना नगरी निजी कलेजलाई सम्बन्धन दिन लागेको विरोधमा कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुरमा विद्यार्थीहरूले साउन १७ गते बिहान तोडफोड गरेका छन् । विद्यार्थीहरूले कार्यालयको मुख्य ढोकामा आगजनी गर्नुका साथै झ्यालका सिसा फुटाएका हुन् ।

सम्बन्धनको विषयलाई लिएर असार ६ गते विद्यार्थीले कार्यालयमा तालाबन्दी गरेका थिए । विश्व विद्यालयकै पदाधिकारीको शेयर रहेको कलेजमा पहिला सम्बन्धन दिनुमा आर्थिक चलखेल रहेको विद्यार्थी सङ्गठनले आरोप लगाउँदै आएका छन् ।
विश्वविद्यालयले दिने सम्बन्धनका विषयमा विवाद बढ्दै आएको छ । नेपाल सरकारले सात प्रदेशमा स्थापना गर्ने भनेको विश्वविद्यालयको आङ्गिक कलेजको स्थापना नगरी निजी कलेजलाई सम्बन्धन दिनेतर्फ विश्वविद्यालयका पदाधिकारीहरू लागेको आरोप विद्यार्थीहरूको छ ।
विश्व विद्यालयले नवलपरासीको गैँडाकोटमा दुई, परासी, झापा, ईटहरी, सप्तरी, सुर्खेत, टिकापुर र काठमाडौँ लगायतमा एक/एक गरी १० नीजि कलेजलाई सम्बन्धन दिने तयारी गरेको जनाइएको छ ।