अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशले कात्तिक १७ गते मध्यरातमा आएको जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पमा परेर घाइते भएकाहरुको राहतका लागि सहयोग सङ्कलन गरेको छ ।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशको कात्तिक १८ गते बसेकाे बैठकले घाइतेहरुको उद्दार र राहतका लागि सहयोग समन्वय गर्ने निर्णय गरेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।
‘हामी नागरिक समाज संस्था र व्यक्तिहरु मिलेर औषधि, लत्ताकपडा, पिफर्म, त्रिपाल लगायतका सामग्रीहरु सङ्कलन गरिरहेका छौं,’संयोजक सुवेदीले भन्नुभयो, ‘भोलीकात्तिक १९ गतेसम्म यी सबै सागीहरु त्यहाँ पुग्नेछन् । उद्दारका लागि जिल्ला स्थित मानव अधिकारहरुलाई समेत हामीले परिचालित गरेका छौं ।’
प्रदेश अस्पतालमा उपचार गरिरहेका जाजरकोट र रुकुमपश्चिमका ३० जना घाइतेहरुलाई एकल महिला सञ्जाल सुर्खेतकी अध्यक्ष ममता नगाल, सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेल लगायत मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुले भेट समेत गरेको संयोजक सुवेदीको भनाइ छ ।
संयोजक सुवेदीका अनुसार कात्तिक १८ गते नै मानव अधिकार रक्षक सञ्जालले रक्तदान गर्ने कार्यक्रम भएपनि उक्त दिन आवश्यक रगत सङ्कलन भइसकेकोले कात्तिक १९ गते रक्तदान गर्ने कार्यक्रम रहेको छ ।


