कपिलवस्तु नपा-५ की २० वर्षीया सविनम खातुनलाई छोरा नपाएको तथा दाइजो कम ल्याएको आरोपमा २५ वर्षीय पति दिलशाह खानले साउन ११ गते कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।
१४ महिना पहिले विवाह गरेका खानले पर्याप्त दाइजो नल्याएको भन्दै बेलाबखत झगडा गर्ने कुटपिट गर्ने गरेको र साउन ११ गते गम्भीर घाइते हुने गरी कुटपिट गरेको पीडित सवनमले बताएकी छन् ।
साउन ११ गते माइतीघर गएको अवस्थामा आमाले पीडितको गालामा निलडाम देखेपछि सोध्दा पतिले कुटपिट गरेको बताएका आरोपमा ‘आमालाई किन कुरा लाइस् ?’ भन्दै पुनः साउन १२ गते कुटपिट गरेको पीडितले बताइन् ।
पीडितले माइतीको सहयोगमा जिल्ला प्रहरी कार्यालय तौलिहवामा साउन १३ गते उजुरी दिएर घाउजाँच गराएकी छन् । पीडित महिलाको उपचार जिल्ला अस्पताल तौलिहवामा भएको छ ।