गोडैता नगरपालिका–१० सिसौटियाका ३६ वर्षीय रामेश्वर राम चमारलाई जातीय विभेद गरेको आरोपमा गोडैता नगरपालिका–११ सिसौटियाका ४१ वर्षीय प्रमेश्वर यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मलंगवामा ०८० कात्तिक १२ गते उजुरी दिनु भएको छ ।
आरोपितले जातीय विभेद तथा छुवाछुत र कुटपिट समेत गरेको पीडितको आरोप रहेको छ । आफ्नै घर अगाडिको बाटोमा भैंसीलाई नुहाउँदै गर्दा आरोपित पनि सोही बाटो हुँदै मोटरसाईकलमा जाने क्रममा बाटोको विषयमा विवाद भएको पीडितले बताउनु भयो ।
विवादको क्रममा आरोपितले “तँ चमार, तँ दलित” भनी जातीय विभेद तथा छुवाछुत जस्ता अमानवीय व्यवहार गर्नुका साथै कुटपिट समेत गरेको पीडितको आरोप रहेको छ ।
पीडितको घाउजाँच सर्लाही जिल्ला अस्पताल मलंगवामा कात्तिक १२ गते गरेको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।
घटना पश्चात आरोपित फरार रहेकोले आरोपितको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।