INSEC Online

📅 २०८३ जेष्ठ २१

सिकलसेल जाँच गर्ने मेसिन मर्मत नहुँदा स्थानीयलाई सास्ती

बाँसगढी नगरपालिकामा रहेको सिकलसेल एनिमिया तथा थालेसिमिया रोग जाँच गर्ने मेसिन बिग्रिएको  तीन वर्ष भन्दा बढी बित्दा  समेत मर्मत नहुँदा स्थानीयले  समस्या भोग्नु परेको छ ।

बाँसगढी नगरपालिकाले स्थानीयलाई निःशुल्क  सिकलसेल तथा विटा थालेसेमिया रोगको जाँच गर्नका लागि ०७६ मङ्सिरमा १८ लाख रूयिाँमा मेसिन खरिद गरेर ल्याएको थियो ।  खरिद गरेको ल्याएको केही समयमा बिग्रिएको मेसिन अझै मर्मत हुन सकेको छैन ।

मेसिन भएर पनि सञ्चाालनमा आउन नसक्दा स्थानीयहरू महँगो शुल्क तिरेर रोगको जाँच गर्न अन्यत्र जान बाध्य छन् । बाँसगढी नगरपालिका–२ बेतनीका २६ वर्षीय राज थारूले सिकलसेल तथा थालेसेमिया जाँच गर्ने मेसिन बिग्रिएको तीन वर्षभन्दा बढी हुदाँ पनि बन्न नसकेको बताउनु भयो ।

‘बाँसगढी नगर अस्पतालमा मेसिन बिग्रिएको छ । त्यहीँ भएर मैले घरमा अन्य सदस्यलाई नेपालगञ्ज लगेर सिकलसेल जाँच गरेर ल्याएको छु ।’ थारुले भन्नु भयो ।

जनप्रतिनिधि, स्थानीय तह, स्वास्थ्य शाखा प्रमुखलाई  यस बारेमा जानकारी भएपनि मेसिन मर्मतको लागि खासै ध्यान नदिएको थारूको गुनासो रहेको छ ।

यसैगरी, बाँसगढी नगरपालिका सिताराम थारूले पनि बिग्रिएको मेसिन मर्मत गरी बाँसगढीमा सिकलसेल जाँच गर्नु पर्ने बताउनु हुन्छ । एउटा परिवारमा पनि कसैलाई सिकलसेल तथा थालेसेमिया छ, कसैलाई छैन् । त्यही भएर प्रत्येकको जाँच गरेर कार्ड उपलब्ध हुनुपर्छ ।’ थारूको भनाइँ रहेको छ ।

स्वास्थ्य कार्यालय बर्दियाले आर्थिक वर्ष २०७९/०८०मा  सिकलसेल तथा थालसेमियाको  स्क्रिनिङ्ग तथा प्रेषण कार्यक्रम अन्र्तगत  बाँसगढी नगरपालिका– ८ लक्ष्मणा रहेको पूर्णहिरा माविका चार सय जना विद्यार्थीको रगत संकलन गरी परीक्षण गर्दा ५८ जना ( १४.५०) प्रतिशतमा सिकलसेल तथा विटा थालसेमिया देखिएको छ । भने आर्थिक वर्ष २०७८/०७९ मा २ सय २५ जनाको  रगत परीक्षण गर्दा ४२ जना ( १९ प्रतिशतमा सिकलसेल तथा थालेसेमिया देखिएको  ल्याब टेक्निसियन निरीक्षक जीवन रजौरेले जानकारी दिनुभयो ।  सिकलसेल एनिमिया र थालेसेमिया अन्य जातिका मानिसमा भन्दा थारूमा बढी रहेको रजौरेले बताउनु भयो । बाँसगढी नरपालिका जनसंख्या ६३ हजार दुई सय ५२ रहेको छ । जसमध्ये आधा जनसंख्या थारु समुदायको छ ।

सामान्यता रातो रक्तकोषहरुको आयु १ सय २० दिन र   सिकलसेल  १५ देखि २० दिनसम्म रक्तसञ्चारमा रहेर नष्ट हुने गर्दछन् । सिकलसेल छिटो छिटो नष्ट हुदाँ शरिरमा  रगतको कमी हुन्छ, जसलाई सिकलसेल एनिमिया भनिन्छ ।

शरिरमा रक्तकोषको राम्रोसँग विकास हुन नसक्दा देखा पर्ने रोग थालेसेमिया हो । जसले हेमोग्लोबिन  उत्पादनमा समस्या ल्याउँछ । शरीरमा रगत नबन्ने भएकोले यसको उपचारकोलागि  रगत दिएर उपचार गरिन्छ ।

बाँसगढी नगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख महेश चौधरीले  मेसिन मर्मत गर्नका लागि बुटवल पठाइएको जानकारी दिनुभयो । उहाँले मेसिन मर्मत भएर आउने बितिकै सिकलसेल र थालेसेमियाको जाँच हुने बताउनु भयो ।

नेपालको संविधानले मौलिक हक अन्तरगत धारा ३५ मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । त्यसैगरी जनस्वास्थ्य ऐन २०७५ मा “ प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभरुपमा प्राप्त हुने अधिकार हुनेछ । भनिएको छ  ।  सोही  ऐनको दफा ३ मा “ कुनै नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन् भनिएको छ ।

तर बाँसगढी नगरपालिका वंशाणुगतरुपमा सर्ने सिकलसेल र थालेसेमियाको जाँच गर्न अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।

अन्य

भिडियो