INSEC Online

📅 २०८३ जेष्ठ २१

आयुर्वेद स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि चिकित्सक नहुँदा बिरामी मर्कामा

आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीमा दुई वर्षदेखि चिकित्सक नहुँदा बिरामीहरू मर्कामा पर्दै आएका छन् । चिकित्सक र आवश्यक संरचना नहुँदा पायल्सका बिरामीहरू महङ्गो मुल्य तिरेर जिल्ला बाहिर उपचार गराउन बाध्य भएका छन् । आर्युवेद स्वास्थ्य केन्द्रले क्षारसुत्र बिधिबाट पायल्सको उपचार गर्ने गर्दछ । तर, दुई वर्षदेखि केन्द्रमा चिकित्सक छैनन् । केन्द्रमा सरुवा भएका अर्जुनराज शर्मा अध्ययन बिदामा छन् ।

आयुर्वेदतर्फ नागरिकको आशा बढ्दै गएकाले दरबन्दी अनुसारको जनशक्ति र उपकरणको व्यावस्थापनको माग स्थानीयस्तरबाट हुँदै आएको छ । ‘म आफै पनि पायल्सको बिरामी हो । बाहिर जाँदा थोरै खर्चले पुग्दैन,’नेतृत्वले केन्द्रको व्यावस्थापनमा तत्काल सोच्नु पर्दछ ।’ दरवार गाउँपालिका–३ का सन्तोष थापाले भन्नु भयो । केन्द्रसहित जिल्लाभर दरबन्दी अनुसार जनशक्ति छैनन्, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रमा सात जनाको दरबन्दीमा तीन जना मात्रै स्थायी छन् ।

नागरिक आरोग्य केन्द्रहरू पनि कार्यक्रमका कर्मचारीहरू दरबन्दी अनुसार स्थापना भएका छैनन् । जिल्लाकै दरबन्दी पुनरावलोकन गर्नुपर्ने भएपनि नभएको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र प्रमुख माधवप्रसाद बश्यालले जानकारी दिनुभयो । बश्यालले केन्द्रहरुसँगै स्थापना भएका जिल्ला अस्पताल स्तरवृद्धि भएर ५० शैयाका भएपनि आफूहरू पुरानै दरबन्दी र मानसिकतामा काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले चिकित्सक नहुँदा वर्षेनी ५० जना पायल्सका बिरामी उपचार गर्न बाहिर पठाउनुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष ०७९/०८० मा ४१ हजार ३ सय ५० बिरामीले आर्युवेद स्वास्थ्य केन्द्र र औषधालयहरूबाट उपचार तथा औषधि सेवन गरेका छन् । आर्थिक वर्ष ०७८/०७९ मा ३७ हजार ५ सय ६ जनाले उपचार गराएका छन् ।

आर्थिक वर्ष ०७८/०७९ मा भन्दा आर्थिक वर्ष ०७९/०८० मा ३ हजार ८ सय ४४ जना बढी बिरामीले सेवा लिएका छन् । केन्द्रले भौतिक प्रगति शतप्रतिशत र आर्थिक प्रगति ९३.७ प्रतिशत गरेको छ । जिल्लामा एक आयुर्वेद स्वास्थ्य केन्द्र, पाँच औषधालय, चार नागरिक आरोग्य सेवा केन्द्र र एउटा विस्तारित सेवा रहेका छन् ।

आयुर्वेदमार्फत पुर्व पञ्चकर्म, ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, प्रयोगशाला जाँच, औषधि वितरण, स्वास्थ्य शिक्षा प्रर्वदन तर्फ योग तथा जीवनशैली परिवर्तन सम्बन्धी तालिम र गृहणीहरूको लागि भान्सा सुधार कार्यक्रम भइरहेको केन्द्रका बैद्य निरिक्षक चन्द्रप्रसाद भुसालले जानकारी दिनुभयो ।

अन्य

भिडियो