INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई घण्टा हिडेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यताले नागरिकलाई सास्ती

सरुमारानी गाउँपालिका— ६ पाङवाङ का नागरिकहरूलाई स्वास्थ्य संस्थाको सुविधा नहुँदा सामान्य बिरामी पर्दासमेत दुई घण्टा भन्दा बढी हिडेर सेवा लिनु पर्ने बाध्यताले नागरिकलाई सास्ती व्यहोर्नु परेको छ ।

गाउँपालिकाका अन्य वडा मध्ये भौगोलिकरुपमा बिकट रहेको यस वडाको पाङवाङ बस्तीमा रहेका १ सय ५० घर परिवारका  नागरिकहरू सामान्य बिरामी पर्दा छिमेकी जिल्ला दाङ जिल्लाको मुकुर्टी अथवा सरुमारानी— ६ बुडीचौरमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा उपचार गर्न जानुपर्ने बाध्यता रहेको स्थानयी अगुवा ५० वर्षीय गनबहादुर गुरुङ्ले बताउनु भयो ।

उक्त ठाउँमा पैदल हिडनु पर्ने बाध्यता रहेको समय बराबर नै लाग्ने र भर्खर भर्खर खनेको मोटरबाटो गाडि चल्ने अवस्था नरहेकोले बिरामीलाई स्टेचरमा बोकेर दुई घण्टा भन्दा बढी लगाएर स्वास्थ्य संस्था पुराउनु पर्ने बाध्यता रहेकोले यस ठाँउका नागरिकलाई स्वास्थ्य उपचारकालागि ठुलो समस्या रहेको गुरुङ्ले बताउनु भयो ।

स्वास्थ्य संस्था स्थापनाकालागि स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएर पास समेत गरेको अवस्थामा भवन निमार्णकालागि गाउँपालिकाले व्यवस्था नगर्दा नागरिकहरूले समस्या भोगीरहेको गुरुङ्ले बताउनु भयो ।

पाङवाङमा स्वास्थ्य इकाईसम्म पनि स्थापना नहुनुले यस ठाँउका नागरिकहरुको स्वास्थ्य प्रति गाँउपालिका गम्भीर नभएको स्थानीय शुसिला बुढाले बताउनु भयो । यस ठाँउका नागरिककालागि स्वास्थ्यमा सहज पहुँच पुर्याउन स्थानीय तह गम्भीर बन्नु पर्ने बुढाको भनाई रहेको छ ।

पाङवाङमा खोप क्लीनिक तथा गाउँ घर क्लीनिक गरी महिनाको दुई पटक स्वास्थयकर्मी पुग्ने भएपनि  यसबाट नागरिकलाई पुर्ण सुबिधा उपलब्ध नभएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख टेकेन्द्र रायमाझीले बताउनु भयो ।

बस्तीमा हप्तामा दुई पटक घुम्ती स्वाथ्य सेवा सञ्चालन बारेमा गाउँपालिका तथा वडा स्तरमा छलफल भइरहेको र आगामि वर्षमा बजेटबाट स्थानीयले दिएको जग्गामा भवन निमार्ण गरी स्वाथ्य संस्था सञ्चालन गर्ने योजना रहेको सरुमारानी गाउँपालिका— ६ का वडा अध्यक्ष तिलबहादुर बुढाले बताउनु भयो ।

तत्कालकालागि सरुमारानी गाउँपालिका — ६ मा रहेका बुढीचौर आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्यकर्मीहरू मार्फत सेवा दिने योजना बनाएको वडा अध्यक्ष बुढाले बताउनु भयो ।

नेपाल संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको (१)मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएता पनि जिल्लामा दुर्गम भेगमा बसोवास गर्ने नारिकहरू स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहदै आएका छन् ।

अन्य

भिडियो