INSEC Online

📅 २०८३ जेष्ठ २१

भत्किएको पुल समयमा नबन्दा बिरामीहरुलाई सास्ती

गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल समयमा नबनेका कारण स्थानीय बिरामीले सास्ती व्यहोर्नु परेको छ ।

२०७९ असोज २२ गते आएको बाढीले पुलको तीन वटा स्पान बगाए पनि हालसम्म निर्माण हुन सकेको छैन भने आवत जावत गर्न डुङ्गाको प्रयोग गर्नु परेको छ ।

गुलरिया नगरपालिका–२ पण्डितपुरका ३५ वर्षीय राम सुवेदीले  ६५ वर्षीया आमा पवित्रा सुवेदीलाई  डाइलोसिस गर्न हप्तामा दुई दिन अस्पताल लिएर जानुहुन्छ ।

पुल भत्किएपछि सुवेदीलाई आमाको उपचार गर्न अस्पताल लैजान समस्या हुने गरेको छ । ‘आमाको मृगौलाले काम गर्न छोडेपछि चार वर्षदेखि डाइलोसिस गर्न नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लिएर जाने गरेको छु । कोहलपुर उपचार गर्न जादाँ जब्दीघाटमा बाटो भएर जाँदा छोटो पर्छ । तर पुल भत्किएपछि भने डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नु परेको छ । समयका कोहलपुर पुग्न सकिएन भने डाइलासिस छुट्छ भने मानसिक चिन्त्ता हुन्छ  ।,’ सुवेदीले भन्नु भयो ।

बारबर्दिया नगरपलिका– ३ की ३१ वर्षीया सम्झना ज्ञवाली स्वास्थ्य परीक्षण र उपचारका गर्न बर्दिया अस्पताल जाने गरेको बताउनु भयो ।  ‘पुल भत्किएपछि धेरै समस्या भोग्नु परेको छ ।  म उपचारको लागि अस्पताल जादाँ डुङ्गा चढेर नदि  तर्नु पर्छ ।  पाँच मिनेटको बाटोमा आधा घण्टा भन्दा बढी समय लाग्छ ।’ ज्ञवालीले भन्नु भयो ।

सुवेदी र ज्ञवाली प्रतिनिधि पात्र मात्र हुन् । उहाँ जस्तै धेरै बिरामीहरू र उनका परीवारले यो समस्या भोग्दै आएका छन् ।

१६ करोड  ६८ लाख लागतमा निमार्ण भएको करिब चार सय २५ मिटर पुल हस्तान्तरण नहुँदै  २०७४ साउन २९ गते पुलका  दुईवटा स्पान भासिएको थियो । पुलको स्पान भासिएको भए पनि पुलबाट साना सवारीसाधन, मोटरसाइकल, साइकल, अटो सहज रुपमा ओहरदोहर गर्दै आएका थिए । २०७९ असोज २२ गते आएको बाढीले पुलको तीन वटा स्पान बगाए पछि आवत जावत नै पूर्णरुपमा बन्द भएको हो ।

सात वर्षमा पनि निमार्ण हुन नसकेको बारबर्दिया नगरपालिका –५ का वडा अध्यक्ष लालबहादुर चौधरी बताउनु हुन्छ । उहाँले पटक पटक मन्त्री र सांसद आएर पुल निर्माण गर्ने प्रतिबद्धता गरे पनि आजसम्म पुल निर्माण  हुन नसकेको बताउनु भयो ।

सडक डिभिजन कार्यालय, नेपालगञ्जका सिडिई निरज शाक्यले पुल निर्माण गर्न स्रोत सुनिश्चताको लागि अर्थ मन्त्रालय पत्र पठाएइको छ । तर मन्त्रालयले स्रोत सुनिश्चता नगरेको हुँदा पुल निर्माणको काम अगाडि बढ्न नसकेको जानकारी दिनुभयो ।

बाारबर्दियाका नगरपालिकाका प्रमुख छविलाल थारूले पुल निर्माणको विषयमा  सडक विभागका महानिर्देशकसँग कुरा गर्दा विभागले पुल निर्माणको प्रकृया अगाडि बढेको जानकारी दिएको बताउनु भयो ।

भौतिक योजना तथा पूर्वाधार मन्त्रालयबाट कागज अगाडि बढे पनि, अर्थ मन्त्रालयले बजेट नछुट्टयाएकोले  काम रोकिएको थारूले बताउनु भयो ।

बारबर्दिया नगरपालिकाले डुङ्गा सञ्चालनको लागि २२ लाखमा ठेक्का दिएको छ ।  डुङ्गामा आवतजावत गर्दा मोटरसाइकलको  १५, साइकलले १० र मानिसको  १० रूपियाका दरले रकम तिर्नुपर्ने बाध्यता रहेको छ  ।

बिरामी, विद्यार्थी, सर्वसाधरण, कर्मचारी, शिक्षक गरी दैनिक १ हजार भन्दा बढी मानिसहरू डुङ्गामा आवतजावत गर्छन्

अन्य

भिडियो