आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका–३ की ४५ वर्षीया रविना विकलाई असोज २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि सहयोग गरेको छ ।
पतिले आफूलाई थाहा नदिएर घरजग्गा बेचेर बालबच्चा र आफूलाई गाँस, बास विहीन बनाएको भन्दै आफ्नो र छोराछोरीको अधिकारका लागि पीडितले जिल्ला अदालत सुर्खेतमा उजुरी दिनु भएको छ ।
मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको मागगर्दै इन्सेकमा असोज १६ गते निवेदन दिनुभएको थियो ।
सोही निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको असोज २४ गते बसेको बैठकको निर्णय अनुसार नगद आठ हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनभयो ।
पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।